१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

आत्मघाती गोलका कारण फ्रान्ससंग जर्मनी स्तब्ध



एजेन्सी ।
साविक उपविजेता फ्रान्सले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । मंगलबार राति भएको खेलमा जर्मनीलाई १-० गोल अन्तरले पराजित गर्दै फ्रान्सले सुखद सुरुवात गरेको हो ।

जर्मनीको म्युनिखस्थित एलिनाज स्टेडियममा विश्व विजेता फ्रान्सले आत्मघाती गोलको मद्दतमा जित निकालेको हो । जर्मनीका माट हुमेल्सको आत्मघाती गोलबाट फ्रान्सले महत्वपूर्ण जित निकालेको हो ।

डिफेन्डर हुमेल्सले २० औं मिनेटमा आत्मघाती गोल गरेका थिए । फ्रान्सका लुकास हर्नान्डेजको क्रस क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरेका थिए । जुन गोल खेलको निर्णायक गोल बन्यो ।

त्यसबाहेक फ्रान्सले गरेको दुई गोलले मान्यता पाएन । खेलको ६६ औं मिनेटमा केलियन एमबाप्पेले गोल गरेका थिए । तर, अफसाइड भएपछि उनको गोलले मान्यता पाएन ।

खेलको ८५ औं मिनेटमा एमबाप्पेको पासमा करिम बेन्जिमाले गोल गरेका थिए । तर, भीएआरको सहायतामा एमबाप्पे अफसाइड रहदा उनको गोलले मान्यता नपाएको हो ।

जर्मनीले भने पाएको अवसरलाई सदुपयोग गर्न सकेन । खेल अवधि भर बल पोसेसनमा पकड जमाएको जर्मनी फिनिसिङमा चुकेको थियो ।यस हारसँगै तीन पटकको च्याम्पियन जर्मनी युरोकपको इतिहासमा पहिलो पटक आफ्नो पहिलो खेलमा पराजित भएको छ ।

जितसँगै ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’ मा रहेका फ्रान्सले महत्वपूर्ण ३ अंक जोडेको छ । फ्रान्स समूहको दोस्रो स्थानमा रहेको छ । यस समूहमा पोर्चुगल शीर्ष स्थानमा रहेको छ । जर्मनी तेस्रो र हंगेरी चौंथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २ असार २०७८ बुधबार ००:००  ६ : १४ बजे