८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

युरो कपः युक्रेनले नर्थ म्यासेडोनियालाई हरायो



काठमाडौं ।
युरो कप अन्तर्गत विहीबार भएको पहिलो खेलमा युक्रेनले नर्थ म्यासेडोनियालाई हराएको छ । रोमानियाको नेशरन एरिनामा भएको खेलमा युक्रेनले नर्थ मेसेडोनियालाई दुई–एक गोल अन्तरले हराएको हो ।

युक्रेनले पहिलो हाफमा नै दुई गोल गरेको हो । युक्रेनका लागि खेलको २९ औँ मिनेटमा एन्ड्रीय यार्मोल्नेकोले र ३४ औँ मिनेटमा रोमन यारेमचुकले गोल गर्दै पहिलो हाफमा टिमलाई दुई–शून्यको अग्रतामा राखेका थिए ।

तर दोस्रो हाफको ५७ औँ मिनेटमा इज्ग्जान एलिओस्कीले गोल गर्दै म्यासेडोनियाको खाता खोले । म्यासेडोनिया खेलमा फर्किने सङ्केत गरे पनि थप गोल गर्न नसक्दा हार बेहोर्न पुग्यो ।

जितसँगै समूह ‘सी’ मा रहेको युक्रेन दुई खेलमा तीन अङ्क जोड्दै तालिकाको तेस्रो स्थानमा छ भने दुई खेल नै हारेको म्यासेडोनिया पुछारमा छ । यो जितपछि युक्रेनले समूह चरण पार गर्ने सम्भावना कायमै रहँदा लगातार दोस्रो हार बेहोरेको नर्थ म्यासेडोनियाको समूह चरण पार गर्ने सम्भावना कम भएको छ ।

प्रतियोगितमा आज राति पौने दश बजे डेनमार्क र बेल्जियम तथा राति पौने एक बजे नेदरल्यान्ड्स र अस्ट्रिया खेल्दै छन् ।

प्रकाशित मिति : ४ असार २०७८ शुक्रबार ००:००  ६ : १५ बजे