१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

डेनमार्कलाई हराउँदै बेल्जियम पुग्यो नकआउट चरणमा



एजेन्सी ।
बेल्जियमले १६ औं संस्करणको युरोकप फुटबलमा उत्कृष्ट पुनरागमन गर्दै लगातार दोस्रो जित निकालेको छ । कोपनहेगनमा बिहीबार राति भएको खेलमा डेनमार्कलाई २-१ गोल अन्तरले पराजित गर्दै बेल्जियमले लगातार दोस्रो जित निकालेको हो । डेनमार्कमाथिको यस जितसँगै बेल्जियम अन्तिम १६ मा समेत प्रवेश गरेको छ । बेल्जियम नकआउट चरणमा पुग्ने दोस्रो टिम हो ।

पार्केन स्टेडियममा बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्ड र केभिन डे ब्रुएनाले एक एक गोल गरे । डेनमार्कका युसुफ पाउलसेनले एक गोल फर्काए ।

खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले बनाएको थियो । खेलको दोस्रो मिनेटमा पाउलसेनले गोल गर्दै डेनमार्कलाई १-० को अग्रता दिलाएका थिए । पाउलसेनले पिएरे इमिलको पासमा गोल गरेका हुन् ।

तर, ब्रुएना चम्किदा दोस्रो हाफमा बेल्जियम खेलमा फर्कियो । खेलको ५५ औं मिनेटमा हाजार्डले गोल गर्दै बेल्जियमलाई १-१ गोलको बराबरीमा फर्काए । उनले ब्रुएनाको पासमा गोल गरे ।

त्यसपछि खेलको ७१ औं मिनेटमा ब्रुएनाले गोल गर्दै बेल्जियमलाई २-१ को जित दिलाए । दोस्रो हाफमा मैदान प्रवेश गरेका ब्रुएनाले कप्तान इडेन हाजार्डको पासमा गोल गरेका हुन् । ब्रुएन खेलको ४६ औं मिनेटमा मेर्टेन्सको स्थानमा मैदान प्रवेश गरेका थिए ।

चोटका कारण ब्रुएनाले पहिलो खेल गुमाएका थिए । म्यानचेस्टर सिटीका मिडफिल्डर ब्रुएना चेल्सीविरुद्धको च्याम्पियन्स लिगको फाइनलमा घाइते भएका थिए । चोटपछि उनको यो पहिलो खेल हो ।

जितसँगै समूह ‘बी’ मा रहेको बेल्जियमले २ खेलमा ६ अंक जोडेको छ । बेल्जियम शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो ।

डेनमार्कको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा डेनमार्क फिनल्याण्डसँग १–० ले पराजित भएको थियो । अंक विहीन रहदै पुछारमा रहेको डेनमार्कको भने अर्को चरण पुग्ने सम्भावना कमजोर बनेको छ ।

प्रकाशित मिति : ४ असार २०७८ शुक्रबार ००:००  ६ : १९ बजे