१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पोर्चुगलमाथि जर्मनीको शानदार जित



एजेन्सी ।

जर्मनीले १६ औं संस्करणको युरोकप फुटबलमा साविक विजेता पोर्चुगलमाथि सानदार जित निकालेको छ । म्युनिखमा शनिबार राति भएको खेलमा जर्मनीले पोर्चुगललाई ४-२ गोल अन्तरले पराजित गरेको हो । एलिनाज स्टेडियममा जर्मनीलाई जित दिलाउन काइ हाभर्टेज र रोबिन गोसेन्सले एक एक गोल गरे ।

जर्मनीले दुई गोल आत्मघाती उपहार पाएको थियो । पोर्चुगलका डिफेन्डरद्वय रुबेन डियास र राफायल गुइरेरोले आत्मघाती गोल गरे ।
यस्तै पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डो र डिएगो जोटाले एक एक गोल फर्काए । रोमान्चक बनेको खेलको पाँचौं मिनेटमा जर्मनीका रोबिनले गोल गरेका थिए । तर, भीएआरमा सर्जी जिनाब्री अफसाइड देखिएपछि उनको गोलले मान्यता पाए । खेलको १५ औं मिनेटमा कप्तान रोनाल्डोले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाए । उनले डिएगो जोटाको पासमा गोल गरे ।

जर्मनीविरुद्ध रोनाल्डो यो पहिलो गोल हो । यस्तै रोनाल्डोको यो १ सय ७ औं अन्तराष्ट्रिय गोल हो । जारी युरोमा तेस्रो गोल पूरा गरेका रोनाल्डोको युरोकपमा कीर्तिमानी १२ औं गोल हो । तर, खेलको ३५ औं मिनेटमा पोर्चुगलका डियासले आत्मघाती गोल गरेपछि खेल १-१ गोलको स्थितिमा आयो । ३९ औं मिनेटमा राफायलले आत्मघाती गोल गरेपछि जर्मनीले पहिलो हाफमा २-१ को अग्रता बनायो । जोसुवा किमिचको क्रस क्लियर गर्ने क्रममा राफायलले आफ्नै पोस्टमा गोल गरेका हुन् ।

दोस्रो हाफमा जर्मनी थप आक्रामक बन्यो । खेलको ५१ औं मिनेटमा गोसेन्सको पासमा हाभर्टेजले गोल गर्दै जर्मनीलाई ३-१ को अग्रता दिलाए । ६० औं मिनेटमा गोसेन्सले गोल गर्दै जर्मनीलाई ४-१ को अग्रता दिलाए । उनले किमिचको पासमा गोल गरेका हुन् । त्यसपछि खेलको ६७ औं मिनेटमा पोर्चुगलका जोटाले एक गोल फर्काएपनि जर्मनी ४-२ ले विजयी भयो । उनले रोनाल्डोको पासमा गोल गरेका हुन् ।

समूह एफ को जर्मनीको यो पहिलो जित हो । दोस्रो स्थानमा रहेको जर्मनीले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा जर्मनी फ्रान्ससँग १–० ले पराजित भएको थियो । पोर्चुगलको यो पहिलो हार हो । पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको थियो ।

समूहको तेस्रो स्थानको पोर्चुगलले २ खेलमा ३ अंक जोडेको छ । यस समूहमा ४ अंक जोडेको फ्रान्स शीर्ष स्थानमा रहेको छ । १ अंक जोडेको हंगेरी पुछारमा रहेको छ ।

प्रकाशित मिति : ६ असार २०७८ आइतबार ००:००  ६ : ५९ बजे