१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

देउराली यातायात अर्घाखाँचीद्धारा ७३ लाख राहत वितरण, गाडी धनी र कर्मचारी खुसी



बिष्णु कुमार आले, अर्घाखाँची ।
गत बैशाख २० बाट लकडाउन भएपछि यातायात व्यवसायमा हात बढाएका देउराली यातायात अर्घाखाँची प्रालिका गाडी धनी शिव बहादुर खत्रीलाई कमाई नहुँदा रोकिएको गाडीको किस्ता कसरी तिर्ने पिरलो छ ।

ऋणमा गाडी लिए पनी कमाई नहुँदा समयमा किस्ता तिर्न नसक्दा र घर खर्च चलाउन गाह्रो भैरहेका बेला देउराली यातायात अर्घाखाँची प्रालिले दिएको राहत सहयोगले गाडीको बिमा रकम र सहकारीको किस्ता तिर्ने गाडी धनी खत्रीले बताए । उनले भने, ‘कमाई नहुँदा सानो सहयोगले पनि धेरै काम गर्न सकिन्छ ।’

नियमित गाडी चल्दा मासिक ७० हजारदेखि एक लाखसम्म कमाई हुन्थ्यो तर लकडाउन पछि अहिले पैसा कस्तो हुन्छ देख्न नपाईरहेका बेला राहत सहयोग पाउँदा आफुलाई खुसी लागेको अर्का गाडी धनी बिष्णु बहादुर खत्रीले बताए ।

उनले भने, ‘बिपद माहामारीका बेला चपेटामा परेका गाडी धनी, चालक, सह-चालकको मर्म बुझेर राहत दिनु प्रशंसायोग्य काम भएको छ ।’
सबै ठप्प भएका बेला हामी भन्दा पनि गरि खाने गाडी चालकहरूलाई ठूलो राहत भएको अर्का गाडिधनि दुर्गा प्रसाद भुसालले बताए । उनले आफुले पाएको सहयोग रकमबाट चालकले पाएको ५ हजार र सह-चालकले पाएको दुई हजारमा थपेर सहयोग गर्ने बताए ।

चालक खुसी छन्
महिनाको १७ हजार तलवमा गाडी चलाउन थालेका चालक मोहन दमासेले राहात स्वरूप ५ हजार पाए पछि पैसा नहुँदा थोरै सहयोग पाएको रकम पनि निकै ठूलो देखिने रहेछ उनले गुनासो गरे ।

दमासे भन्छन्, ‘सहयोग पाएको रकमले घरमा खाध्यान्न दाल चामल तेल लैजाने र छोराछोरीलाई कापी कलम लैदिने हो ।’

गाडी नचलेपछि साहुसँग पनि कसरी पैसा माग्ने तर लकडाउन पछि दुई रूपैयाँ पनि कमाई नभएका बेलामा पाँच हजार पाउँदा निकै खुसी लागेको दमासेको भनाई छ । कमाई नहुँदा सास्ति खेपिरहेका बेला देउराली यातायात अर्घाखाँची प्रालिले आइतबार गाडी धनी, चालक र सह-चालकलाई आर्थिक सहयोग गरेपछि उनीहरू खुसी भएका हुन् ।

राहत दिन किन आवश्यकः अध्यक्ष बन्जाडे
देउराली यातायात अर्घाखाँची प्रालिमा आवद्ध भएका जीप, हाईस र मिनी माईक्रो गरी १ सय ६० ओटा सवारी साधन संचालनमा छन् । तर बैशाख २० देखि गाडि ठप्प छन् । गाडी नचले पछि कमाई नभएका बेला गाडी धनी र कर्मचारीहरूलाई केही राहत होस भन्ने उद्धेश्यले संस्थाले आइतबार ७३ लाख रकम राहत वितरण गरेको संस्थाका अध्यक्ष गोबिन्द बन्जाडेले बताए ।

अध्यक्ष बन्जाडेका अनुसार प्रति गाडी धनी ४३ हजार, गाडी चालकलाई ५ हजार र सह–चालकलाई ३ हजारका दरले राहत वितरण गरिएको छ । उनले भने–‘राज्यको ध्यान नपुगे पनि संस्थाबाट थोरै भए पनि आर्थिक सहयोग गरेका हौं ।’

प्रत्येक ट्रिपमा त्रिशुल रसिदबाट उठेको रकम र नयाँ गाडी एन्ट्रीबाट उठेको संकलित रकम राहत वितरण गरिएको अध्यक्ष बन्जाडेको भनाई छ ।

उनले गाडिको किस्ता त परको कुरा, हातमुख समेत कसरी जोड्ने भन्ने समस्या भैरहेका बेला संस्थाको मातहतमा रहेका गाडी धनी र कर्मचारीको मर्मलाई बुझेर राहात दिएको बताए ।

गत बर्ष पनि देउराली यातायात अर्घाखाँची प्रालिले आफू मातहतका सवारी धनिहरुलाई ५० हजारका दरले राहत वितरण गरेको थियो भने जिल्लाका सवै स्थानीय तहलाई १/१ लाखसमेत सहयोग गरेको थियो ।

प्रकाशित मिति : ६ असार २०७८ आइतबार ००:००  ७ : २६ बजे