८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

रुसलाई हराउँदै डेनमार्क नकआउट चरणमा



एजेन्सी । डेनमार्क १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।सोमबार राति भएको खेलमा रुसलाई ४-१ गोल अन्तरले पराजित गर्दै डेनमार्क समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।

घरेलु मैदान पार्केन स्टेडियममा डेनमार्कलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक एक गोल गरे ।

रुसका आर्टम ज्यूबाले एक गोल फर्काए ।खेलको ३८ औं मिनेटमा डाम्सगार्डले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका हुन् । उनले पिएरे इमिलको पासमा बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।

५९ औं मिनेटमा पाउलसेनले गोल गर्दै डेनमार्कको अग्रता २-० को बनाए । रुसका डिफेन्डरले दिएको ब्याक पासमा उनले गोल गरे ।

७० औं मिनेटमा आर्टमले पेनाल्टीमा गोल गर्दै रुसलाई २-१ को स्थितिमा ल्याए ।७९ औं मिनेटमा क्रिस्टियनसेनले गोल गर्दै डेनमार्कलाई ३-१ को अग्रता दिलाए ।त्यसपछि खेलको ८२ औं मिनेटमा जोकिमले गोल गर्दै डेनमार्कलाई ४-१ को जित दिलाए ।

यस जितसँगै समूह बीको डेनमार्कले ३ खेलमा ३ अंक जोड्यो । र, समूहको उपविजेता बन्यो ।पहिलो खेलमा डेनमार्क फिनल्याण्डसँग १-० ले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा डेनमार्कले बेल्जियमसँग २-१ ले पराजित भएको थियो ।

डेनमार्कसँग पराजित रुस भने समूह चरणबाट बाहिरिएको छ । पुछारमा रहेको रुसले ३ खेलमा ३ अंक जोड्यो ।पहिलो खेलमा बेल्जियमसँग ३-० ले पराजित भएको रुसले दोस्रो खेलमा फिनल्याण्डलाई १-० ले हराएको थियो ।

प्रकाशित मिति : ८ असार २०७८ मंगलबार ००:००  ६ : १९ बजे