१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

स्लोभाकियाको पोष्टमा ५ गोल गर्दै स्पेन नकआउट चरणमा



एजेन्सी । स्पेन समूह उपविजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।सेभियामा बुधबार राति भएको खेलमा स्लोभाकियालाई ५(० गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम १६ मा प्रवेश गरेको हो ।

स्पेनलाई जित दिलाउन एम्रिक लापोर्ट,पाब्लो सराबिया र फेरान टोरेसले एक एक गोल गरे । स्पेनले दुई गोल आत्मघाती उपहार पाएको थियो ।खेलको १२ औं मिनेटमा स्पेनका अल्भारो मोराटाले पेनाल्टीमा गोल गर्न सकेनन् । मोराटाको पेनाल्टी प्रहार स्लोभाकियाका गोलकिपर मार्टिन डुब्राभ्काले बचाए ।

तर, खेलको ३० औं मिनेटमा गोलकिपर मार्टिनको आत्मघाती गोलबाट स्पेनले सुरुवाती अग्रता बनायो । स्पेनका पाब्लो सराबियाको प्रहार क्रसबारमा लाग्दै फर्किएको बल क्लियर गर्न्ने क्रममा मार्टिनले आफ्नै पोस्टमा गोल गरेका थिए ।

पहिलो हाफको इन्जुरी समयमा लापोर्टले गोल गर्दै पहिलो हाफमा स्पेनलाई २(० को अग्रता दिलाए । जेरार्ड मोरेनेको पासमा उनले हेड मार्फत गोल गरेका हुन् ।

स्पेनको लागि उनको यो पहिलो गोल हो । लापोर्ट हालै फ्रान्सबाट स्पेन सरुवा भएका थिए । स्पेनको नागरिकता प्राप्त गरेसँगै फिफाले लापोर्टलाई स्पेनबाट अन्तराष्ट्रिय फुटबल खेल्न अनुमति दिएको थियो ।

२६ वर्षीय डिफेन्डरले यस अघि फ्रान्सको युवा टिमबाट खेलेका थिए । तर, उनले फ्रान्सको सिनियर टिमबाट भने खेल्ने मौका पाएका थिएनन् ।

प्रकाशित मिति : १० असार २०७८ बिहिबार ००:००  २ : ४६ बजे