२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

यी एमाले नेता, जसले आफुले पाएको भत्तावापतको सबै रकम मृगौला पीडितलाई हस्तान्तरण गरे



मायादेवी अनलाइन, बुद्धभूमि ।
नेकपा (एमाले) बुद्धभूमि नगर कमिटीका अध्यक्ष देवी बेल्वासेले लामो समय देखि मृगौला रोगले ग्रसित आशिका पुनलाई आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. २ गोरुसिंगेमा रहेकी मृगौला पीडित १६ बर्षीया पुनलाई एमाले नगर अध्यक्ष बेल्वासेले आर्थिक सहयोग गर्नुभएको हो ।

एक बर्ष अगाडी आफ्नो बुवा गुमाएकी पुनलाई आर्थिक अभावको कारण उपचारमा समस्या हुँदै आएको छ । उक्त समस्या सुन्दा वित्तिकै बेल्वासेले आर्थिक सहयोग गर्नुभएको हो ।

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तगत बुद्धभूमि नगरको सिफारिस समितिका सदस्य समेत रहनुभएका बेल्वासेले आफुले एक बर्ष भरी भत्ता बापत पाएको ८ हजार १ सय रुपैया पुनलाई दिएको बताउनुभयो । नेता बेल्वासे स्वयम आर्थिक रुपमा सम्पन्न हुनुहुन्न । तर, आफु सकिएर भएपनि जनता बचाउने काम राजनीतिकर्मीको भएको कारण आफुले भत्ता वापतको सबै रकम दिएको उहाँले मायादेवीलाई बताउनुभयो ।

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रममा एकल महिलाका लागि बाख्रा वितरण गर्दा पुनको दयनिय अवस्थाबारे मायादेवी टिभीले प्रकाशमा ल्याएको थियो । उक्त समस्यालाई प्रत्यक्ष सुन्नुभएका बेल्वासेले आफुले पाएको एक बर्षभरको भत्ता वापतको रकम पुन परिवारलाई बुधबार घरमै पुगेर दिनुभएको हो ।

रकम हस्तान्तर गर्दै नेता बेल्वासेले सामाजिक कार्य गरेवापत दिइने भत्ता रकम आफुले व्यक्तिगत खर्चमा प्रयोग नगरेको बताउनुभयो । राजनीति सेवाको भावनाले गरिने कार्य भएकाले भत्ता नबुझ्ने गरेको उहाँले सुनाउनुभयो । बुझेको भत्ता रकमलाई सामाजिक कार्यमा खर्च गर्दै आएको पनि उहाँले बताउनुभयो ।

रकम हस्तान्तरण कार्यक्रममा नेकपा (एमाले)का बुद्धभूमि नगर इन्चार्ज पिताम्बर खनाल, नेकपा (एमाले) जिल्ला सचिवालय सदस्य कृष्ण भट्टराई, एमाले जिल्ला कमिटी सदस्य चुरामणी पोख्रेल, वडा नं. २ का वडाध्यक्ष भेषराज खनाल लगायतको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा मृगौली पीडितकी आमा शान्ता पुनले आफ्नो पीडा सहभागी समक्ष राख्नुभएको थियो । गएको भदौ महिनामा मलेसियामा आफ्नो श्रीमानको मृत्यु भएको र अहिलेसम्म आफुले राहत नपाएको पुनको दुखेसो थियो । अहिलेसम्म छोरीको उपचारमा लाखौ रकम खर्च गरेको भन्दै आफ्नी एक्ली छोरीको जीवन रक्षा गरिदिन उहाँले आग्रह गर्नुभएको थियो ।

शान्ता पुनको पीडा सुनेपछि एमाले नेताहरुले आफुहरुले छोरीको उपचार र श्रीमानको क्षतिपूर्तीबारे सम्बन्धित ठाउँमा पहल गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

सम्पत्तीको नाममा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमबाट पाएको दुई वटा बाख्रा बाहेक पुन परिवार समक्ष केही छैन् । कमाएको सबै रकम र सम्पत्ति छोरीको उपचारमा खर्च गरेको पुन परिवारको एक्ली छोरी हुन् । कमाउने बुवाको निधन भएपछि अहिले पुन परिवार दिनरात पीडामा बाचेको छ ।

प्रकाशित मिति : १७ असार २०७८ बिहिबार ००:००  ६ : ५१ बजे