१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

विजयनगरको बजेट ५६ करोड ६१ लाख



विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि सर्वसम्मत रुपमा बजेट पारित गरेको छ । गाउँपालिकाले संशोधन गरी आगामी आर्थिक वर्षका लागि ५६ करोड ६१ लाख ६९ हजार ९ सय ६३ रुपैयाँको बजेट पारित गरेको छ ।

विजयनगरले नवौँ गाउँसभाको दोस्रो बैठकबाट सर्वसम्मत रुपमा बजेट पारित गरेको हो । बैठकबाट विजयनगर गाउँपालिकाको विनियोजन, स्थानीय तह कर्मचारी व्यवस्थापन, आर्थिक विधयेक सर्वसम्मतबाट पारित भएको जनाइएको छ ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले कोभिड १९ संक्रमणबाट जनताको जीवन रक्षा, कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी, धार्मिक, साँस्कृतिको विकास संरक्षण तथा प्रवद्र्धनलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।

यस्तै आर्थिक विकास, सामाजिक विकास, स्वच्छ खानेपानी, पूर्वाधार विकास, खेलकूद, वन वातावरण तथा विपद् व्यवस्थापन, स्वास्थ्य विकास, सेवा प्रवाह र शुसासनलाई निरन्तरता दिँदै जानुपर्नेमा जोड दिएको अध्यक्ष थापाले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले गाउँपालिकाको बाटो राजमार्गसम्म कालोपत्रे जोड्न सफल भएको बताउँदै गाउँपालिकालाई धुलो र हिलो मुक्त पालिका घोषणा गर्ने गरी आगामी आर्थिक वर्षमा बाँकी कामहरुमा बजेट लगानी गरिने उपाध्यक्ष चौधरीले बताउनुभयो । छोरी बचाउँ, छोरी पढाउ अभियान अन्तर्गत छोरी शिक्षाका लागि गाउँपालिकाले जिम्मेवारीसमेत लिएको छ ।

एक वडा एक बिउँ बैँक स्थापना गर्ने, स्थानीय माटो, बालीनाली अनुसार उत्पादन गर्ने, सिँचाई व्यवस्था, कृषि विकासलाई आधुनिक प्रणालीमा रुपान्तरण गरी आत्मनिर्भर बनाउने, युवा रोजगारी, पशु व्यवसाय, पर्यटन प्रवद्र्धन, निशुल्क स्वास्थ्य गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्ने, आवश्यकता अनुसार बर्थिङ सेन्टरको संख्या बढाउने, बालमैत्री वडा घोषणा, गाउँपालिकामा सेवाका लागि सहायता कक्ष सञ्चालन, नक्सा पासको व्यवस्था, छानो मुक्त पालिका घोषणा गर्ने लगायत कार्यक्रममा बजेटलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले विजयनगर गाउँपालिकाको संगठन, संरचना तथा व्यवस्थापन सर्वेक्षणको मस्यौदा अन्तर्गत वार्षिक बजेट सर्वसम्मतबाट पारित भएको बताउनुभयो ।

प्रकाशित मिति : २९ असार २०७८ मंगलबार ००:००  १ : ३५ बजे