५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

वडा अध्यक्षको मृत्युपछि सन्धिखर्क नगरपालिका एक हप्ता सिल



बिष्णुकुमार आले, अर्घाखाँची ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसालको कोरोना संक्रमणबाट मृत्यु भएपछि सोमबारदेखि एक हप्ताको लागि सन्धिखर्क नगरपालिका बन्द गरिएको छ। सन्धिखर्क नगरपालिका ८ किमडाँडा घर भएका वडा अध्यक्ष भुसालको उपचारका क्रममा काठमाडौंको ह्याम्स अस्पतालमा आइतबार मृत्यु भएको थियो । बिरामी परेपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि भर्ना गरिएको ६१ वर्षीय वडा अध्यक्ष भुसालको अवस्था गम्भीर बनेपछि ५ दिन अघि हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो ।

नगर प्रमुख कमल प्रसाद भुसालको अध्यक्षतामा सोमबार बसेको नगर कार्यपालिकाको बैठकले नगर कार्यपालिकाको कार्यालय तथा १२ वटै वडा कार्यालयका अत्यावश्यक बाहेकका सम्पूर्ण काम श्रावण १७ गते सम्म बन्द गर्ने तथा सबै वडा र नगरमा १३ दिन सम्म शोक पुस्तिका राख्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।

उनी शिक्षक पेशाको अवकास पछि नेकपा एमाले बाट वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । उनी स्थानियतहमा लोकप्रिय नेताको रूपमा परिचित थिए । उता वडा अध्यक्ष ईश्वरी प्रसाद भुसालको निधनले पार्टी मा ठूलो क्षेति भएको भन्दै नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले शोकको घडिमा ३ दिन सम्म जिल्लाका ६१ ओटै वडाहरू तथा ६ ओटा स्थानियतहमा कुनै अौपचारीक कार्यक्रमको आयोजना नगर्ने , जिल्ला स्थित पार्टीका कार्यालयहरूमा तीन दिनसम्म पार्टीको झन्डा आधा झुकाउने र १३ दिनसम्म जिल्ला पार्टी कार्यालयमा शोकपुस्तिका राखि मृतक भुसाल प्रति शोक श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको छ ।

हालसम्म जिल्लामा कोरोनाका कारण ७० जनाको ज्यान गएको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिए । कोरोनाका कारण सन्धिखर्क नगरपालिकामा २०, भुमिकास्थान नगरपालिकामा १५, शितगंगा नगरपालिकामा १२, मालारानी गाउँपालिकामा १२, पाणिनि गाउँपालिकामा ८, र छत्रदेव गाउँपािलकामा ३ जना गरी ७० जनाको ज्यान गएको हो ।
हाल सम्म जिल्ला भरमा कुल कोरोना संक्रमितको संख्या ३१ सय १६ पुगेको छ । हाल सम्म कोरोना मुक्त हुनेको संख्या २६ सय ३४ पुगेको छ । अब जिल्लाभरमा सक्रिय कोरोना संक्रमितको संख्या ४ सय १२ जना रहेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७८ सोमबार ००:००  ५ : २५ बजे