२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

आज यी नदीमा आउन सक्छ बाढी, सर्तकता अपनाउन आग्रह



काठमाण्डौ ।

आज देशका केही नदी तथा खोलामा बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबईलगायत मझौला नदीहरुमा आज पानीको बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेको बाढी पूर्वानुमान महाशाखाले सूचनामार्फत् जनाएको हो ।

तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । यस्तै आज प्रदेश एकको इलाम, उदयपुर, ओखलढुङ्गा, खोटाङ, भोजपुर, सङ्खुवासभा, प्रदेश-२ को बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सप्तरी, वाग्मती प्रदेशको सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाण्डौ उपत्यका, धादिङ, नुवाकोट, मकवानपुर, चितवन, गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, नवलपुरलगायतका ठाउँ भएर बग्ने नदी तथा खोलामा बाढी आउने सम्भावना छ ।

यस्तै लुम्बिनी प्रदेशको नवलपरासी, गुल्मी, पाल्पा, प्युठान, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, प्युठान, रुकुम, रोल्पा, दाङ, बाँके, बर्दिया, कर्णाली प्रदेशको सुर्खेत, दैलेख, कालीकोटलगायतका जिल्ला भएर बग्ने नदी तथा खोलाहरुमा पनि बाढी आउने सम्भावना छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८ आइतबार ००:००  ९ : १५ बजे