१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

बाणगंगाकी एकल, निसन्तान तथा विपन्न महिलालाई ‘जोखिम किट’ सहयोग



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ बैजलपुरको सुकुम्बासी टोलमा बस्ने हरिकला न्यौपानेलाई जोखिम किट सहयोग गरिएको छ । सिद्धार्थ सामाजिक विकास केन्द्रको समन्वयमा युएनएफपिएले जोखिम किट हस्तान्तरण गरेको हो । न्यौपानेको निवास मिहिनेत टोलमा पुगेर सिद्धार्थका सचिव रोमाकान्त घिमिरे र युएनफपिए कार्यक्रम अधिकृत निस्ता थापाले संयुक्त रुपमा किट हस्तान्तरण गर्नुभएको थियो ।

६५ बर्षिय न्यौपाने एकल, निसन्तान र अति विपन्न महिला रहेको थाहा पाएपछि अलिकति भए पनि सहयोग पुगोस् भनेर युवा तथा किशोर किशोरीको सहयोगमा आएको किट सहयोग गरिएको सचिव रोमाकान्त घिमिरले बताउनु भयो ।

आफ्नो लागि ससानो सहयोग पनि ठुलो भएकाले सहयोग गर्ने संस्थालाई न्यौपानेले धन्यबाद दिनुभयो । कसैले घर बनाउन सहयोग गरिदिए बस्न सजिलो हुने न्यौपानेको आशा छ । उहाँले भन्नुभयो ‘घर जिर्ण छ । बारेको टाटीको भित्तो पनि भत्किने अवस्थामा छ । खाबाबला धमिराले खाएर कतिखेर ढल्ने हुन् निश्चित छैन । रातिदन डरैडरमा जीवन गुजार्नु परेको छ । पानी पर्दा घर कतिखेर भत्कन्छ सारै डर लाग्छ ।’

नगरपालिकाले सबै सुकुम्बासीलाई सोलोडोलो रुपमा हेर्दा आफूले अहिलेसम्म केही नपाएको उहाँको गुनासो छ । घरमा साहारा दिने कोही पनि नहुँदा आफू समस्यामा परेको न्यौपानेले मायादेवीसंग बताउनु भयो । युएनएफपिएले कपिलवस्तुसहित लुम्बिनी प्रदेशका बिभिन्न जिल्लाका असहाय तथा विपन्न, युवा, किशोरकिशोरीहरु, बिभिन्न विपद्मा परेकाहरुलाई पनि सहयोग गर्ने गरेको कार्यक्रम अधिकृत थापाले बताउनु भयो ।

प्रकाशित मिति : १५ भाद्र २०७८ मंगलबार ००:००  ७ : २६ बजे