१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

लुम्बिनी प्रदेशमा कृषि विकास बैंकका दुई नयाँ शाखा



रुपन्देही ।

कृषि विकास बैंकले लुम्बिनी प्रदेशको पूर्वी रुकुम र बाँकेको पिपरीमा गरी दुई नयाँ शाखा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । दुवै शाखाको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले उद्घाटन गरेका हुन् । उद्घाटनपछि प्रमुख कार्यकारी अधिकृत उपाध्यायले कृषि क्षेत्रको विकास गर्ने उद्देश्यले शाखा स्थापना गरिएकाले ‘कृषिलाई नछोड्ने अरूलाई जोड्ने’ नाराअनुसार अघि बढ्ने बताए । समयअनुसार अन्य क्षेत्रलाई समेट्दै लगे तापनि कृषि क्षेत्रलाई विशेष जोड दिने उनको भनाइ थियो । कृषकको हित र सहजताका लागि कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउन कृषि विकास बैंकले किसान क्रेडिट कार्ड सञ्चालनमा ल्याएको र यसको प्रयोगबाट कृषकलाई आवश्यक पर्ने मल, बिउ र अन्य सामग्री खरिद गर्न र नगद भुक्तानी दिन र लिनसमेत सहज हुने उपाध्यायले बताए ।

कृषिका लागि प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले सहुलियतपूर्ण कर्जाको उपयोग गरी व्यावसायिक कृषितिर लाग्न उनले आग्रह गरे । त्यस क्षेत्रका जनताको जीवनस्तर उकास्न र आयस्तर वृद्धि गर्न जस्तोसुकै परिस्थितिमा पनि बैंक सहयोग गर्न तयार रहेको उनको भनाइ थियो । कार्यक्रममा बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले कृषि विकास बैंकबाट प्रवाह गर्ने सबै बैंकिङ सुविधाका बारेमा जानकारी गराएका थिए । सुवेदीले जतिसक्दो उत्पादनमूलक व्यवसायमा जोडिने कृषकलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने र कृषकलाई आधुनिक प्रविधिसँग आबद्ध गराई लैजाने बताएका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०७८ शुक्रबार ००:००  ९ : ४१ बजे