४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

चीन र भारतसँग वार्ता गरेर सीमा समस्या समाधान हुनुपर्छ : केपी ओली



काठमाण्डौ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल–भारतबीच देखिएका सीमालगायतका समस्या समाधान गर्न जिम्मेवारी कुटनीतिक पहल गर्नुपर्ने आवश्यक्ता औल्याउनुभएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्तामा नेपाली भूमि मिचिएको उल्लेख गर्दै त्यसलाई फिर्ता ल्याउन आफ्नो पार्टीले चाहेको पनि स्पष्ट पार्नुभयो । उहाँले छिमेकी देश भारत र चीनका जायज माग सम्बोधन गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो ।

आज शुक्रवारदेखि ललितपुरको गोदावरीमा रहेको सनराइज सम्मेलन केन्द्रमा सुरु भएको विधान राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै उहाँले कसैसँग पनि वैरभाव नराख्नु आफ्नो पार्टीको विदेश नीति भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी चीन र भारतसँग सार्थक वार्ता गरेर सीमा समस्या समाधान होस् भन्ने चाहन्छौँ । यसले त्रिदेशीय सहकार्यको सम्भावना पनि बढ्नेछ । नेपाल एक चीन नीतिमा अडिग छ । नेपाल–भारत सीमा वारपार अपराध नहोस् र आतङ्ककारीले लाभ उठाउन नपाउन् भन्ने कुरामा भारतको चासो देखिन्छ । भारतसँगको व्यापार घाटाका साथै लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्ता क्षेत्रमा नेपाली भू–भाग फिर्ता र सीमाको व्यवस्था हुने अनावश्यक चासोजस्ता विषयमा नेपालको चासो र सरोकार रहेको छ । हामी हाम्रा छिमेकीको जायज चासोप्रति सजग छौँ । त्यस्तै सजगता र सम्मान हामी हाम्रा मित्रहरूरछिमेकीहरूबाट पनि चाहन्छौँ । दुई देशबीचको समस्याहरूलाई जिम्मेवारी कुटनीतिक पहलको माध्यमबाट समाधान गर्न हामी चाहन्छौँ । हाम्रो विदेश नीति सबैसँग मित्रतापूर्ण सम्बन्ध राख्नु र कसैसँग पनि वैरभाव नराख्नु हो ।’

प्रकाशित मिति : १५ आश्विन २०७८ शुक्रबार ००:००  ३ : १५ बजे