६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

वैज्ञानिकले पत्ता लगाए मोटोपन बढाउने जिन



एजेन्सी ।

कसरत नगर्नु र बोसोयुक्त खाना खानु मात्रै सधैं मोटोपन समस्याको कारण हुँदैन। अमेरिकी वैज्ञानिकले यसको अर्को एउटा कारण बताएका छन्। त्यो हो– मानव जिन। अनुसन्धानका क्रममा वैज्ञानिकले यस्ता १४ प्रकारका जिन पत्ता लगाए, जुन मानिसलाई मोटो बनाउन जिम्मेवार छन्। यी जिनका कारण मानिस मुटुरोग र मधुमेह (डायबिटिज) जस्ता रोगको सामना गरिरहेका छन्।

मोटोपन पनि एक महामारी
अनुसन्धानकर्ता भर्जिनिया युनिभर्सिटीको कलेज अफ आर्ट एन्ड साइन्सका शोधकर्ताले भनेका छन्, ‘मोटोपनको समस्या पनि एउटा महामारी बनेको छ। धेरै क्यालोरीयुक्त खाना, सुगर र फ्रक्टोज धेरै खाँदा सीधै मोटोपन बढ्छ। यसमा निष्क्रिय जीवनशैलीको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। तर अनुसन्धान भन्छ– यसका लागि मानिसको जिन पनि जिम्मेवार हुन्छ।
यस्तो जिन नियन्त्रण गरेर मोटोपन घटाउन सकिन्छ
अनुसन्धानका अनुसार मानिसले खाने अतिरिक्त खानालाई कुन जिनले बोसोमा परिणत गरिरहेको छ भन्ने थाहा पाएपछि औषधिद्वारा त्यस जिनलाई निष्क्रिय पार्न सकिन्छ। यसबाट बढ्दो मोटोपनको महामारी रोक्न मद्दत पुग्छ। साथै डायबिटीजजस्ता धेरै रोग रोक्न सकिन्छ।

अनुसन्धानको नतिजाको अर्थ के हो ?
अनुसन्धानकर्ता एलिन ओरुरकेका अनुसार यो अनुसन्धानको परिणामले औषधि कम्पनीहरूलाई मोटोपन रोक्न सक्ने औषधि उत्पादन गर्नमा मद्दत पुग्छ। अहिले जु्न किसिमले विश्वभरका मानिस मोटाउने क्रम बढेको छ, त्यसका लागि मोटोपनविरोधी थेरापी आवश्यक छ। अनुसन्धानले यस्तो थेरापी विकासका लागि पनि सहयोग पुर्याउँछ।

विशेषज्ञहरूका अनुसार अन्य अवस्थामा मोटोपन घटाउन यी ६ कुरामा ध्यान दिनुपर्छ–

खानामा बढी मात्रामा फलफूल समावेश गर्ने, एकैपटक धेरै नखाने, खानामा दही–मोही समावेश गर्ने, धेरै तेल–मसलायुक्त खाना नखाने, ८ देखि १० घण्टा मस्तसँग निदाउने र दैनिक कम्तीमा ४५ मिनेट कसरत गर्ने। एजेन्सी

प्रकाशित मिति : १८ आश्विन २०७८ सोमबार ००:००  ९ : ४७ बजे