३२ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025

अखिल क्रान्तिकारीको नेतृत्व चयनमा विवाद, रन्जित तामाङसहित करिब एक दर्जन विद्यार्थी नेता घाइते



काठमाडौं ।
नेकपा माओवादी केन्द्र निकट विद्यार्थीहरुको संगठन अखिल क्रान्तिकारीको जारी २२ औँ राष्ट्रिय सम्मेलनमा नेतृत्व चयनका विषयमा विवाद हुँदा कुर्सी हानाहान भएको छ।

काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा सोमाबार राति नाराबाजी र कुर्सी हानाहान भएको हो। विधानविपरीत सदस्य संख्या थप्न खोजेपछि विवाद भएको थियो। विधानमा २५ पदाधिकारीसहित १९९ सदस्यीय कार्यसमितिको व्यवस्था भए पनि सबै आकांक्षीलाई अटाउन भन्दै पार्टीले ५५ जना पदाधिकारीसहित ३९९ जनाको समिति बनाउने निर्णय सुनाएपछि विवाद भएको विद्यार्थी नेता निर्मल लामाले बताए।
उनका अनुसार महासचिव पदमा कुरा नमिल्दा पनि हल उग्र बनेको हो। पार्टीका महासचिवमा दिपेश पुनलाई तोकेर पठाएको र घोषणा गर्न खोज्दा हलमा कुर्सी हानाहान भएको बताइएको छ।

त्यस क्रममा रन्जित तामाङसहित करिब एक दर्जन विद्यार्थी नेता घाइते भएका छन्। तीन दिनमा सकिने तय गरेको सम्मेलन विवादका कारण लम्बिएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्षमा पञ्चा सिंहलाई अध्यक्ष तोकेका थिए। अध्यक्षबाहेक अन्य पदाधिकारी चयन हुन सकेन।

विद्यार्थी संगठनका फ्याक्सन इन्चार्ज हितमान शाक्यले अध्यक्षको घोषणा गरेपछि सबै पदाधिकारी एकैपटक घोषणा गर्नुपर्ने भन्दै प्रतिनिधिहरू आक्रोशित बनेका थिए।

प्रकाशित मिति : १९ आश्विन २०७८ मंगलबार ००:००  ९ : १८ बजे