२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

चर्चका पादरीले २ लाख बढी बालबालिकामाथि यौन दुर्व्यवहार गरेको खुलासा



पेरिस ।

फ्रान्समा क्याथोलिक चर्चका पादरीहरुले करिब २ लाख १६ हजार बालबालिकामाथि यौन दुर्व्यवहार गरेको खुलेको छ। सन् १९५० देखि हालसम्म पादरीमार्फत सो संख्यामा बालबालिकामाथि यौन दुर्व्यवहार भएको एक फ्रान्सेली अनुसन्धानले खुलाएको हो।

फ्रान्सका अनुसन्धानकर्ता जिन मार्क सौभले फ्रेन्च क्याथोलिक चर्चमा भएको यौन दुर्व्यवहारसम्बन्धी लामो रिपोर्ट सार्वजनिक गर्दै भनेका छन्, ‘संसारभर यस्ता काण्डहरु थुप्रै भेटिन्छन्। तर फ्रान्सको क्याथोलिक चर्चको मात्र अनुसन्धान हेर्ने हो भने यहाँ डरलाग्दो तथ्यांक छ। पादरीहरुबाहेक अन्य सदस्यसहितको तथ्यांक हेर्ने हो भने यौन दुर्व्यवहारमा पर्ने पिडितको संख्या अझै दोब्बर छ।’ रिपोर्टअनुसार किशोर अवस्थाभन्दा मुनिका बालबालिका सबैभन्दा बढी पीडित छन्।

करिब तीन वर्षभन्दा बढी समय लगाएर सो रिपोर्ट तयार पारिएको थियो। करिब २ हजार ५ सय पेज लामो रिपोर्टमा १ लाख १५ हजार पादरी र अन्यमध्ये ३ हजार २ सयभन्दा बढी आरोपितको प्रमाण फेला परेको बीबीसीमा उल्लेख छ।

प्रकाशित मिति : १९ आश्विन २०७८ मंगलबार ००:००  ४ : ०१ बजे