१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मन्त्रीको नाम पठाउन मापदण्ड बनाउँदै नेकपा (एस)



काठमाडौँ ।
विधि र पद्धतिको वकालत गर्दै आएको नेकपा (एकीकृत समाजवादी)ले चाँडै विस्तार हुने मन्त्रिपरिषद्‍मा कस्ता व्यक्तिलाई मन्त्री बनाउला भन्ने आमचासोको विषय बनेको छ।

नेकपा एमालेसँग विधि, प्रक्रियामा असहमति जनाउँदै अलग भएको नेकपा ९एस०ले पार्टीले कस्ता व्यक्तिलाई मन्त्रिपरिषद्‌मा पठाउला भन्ने सबैको चासो रहेको छ। ढिलोमा आगामी शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार हुने चर्चा चलिरहेका बेला नेकपा (एस) सहभागी हुने व्यक्तिको मापदण्ड बनाउने तयारीमा जुटेको छ।

सो पार्टीका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले मन्त्रिपरिषद्‌मा सहभागी हुनेको मापदण्ड बनाइने जानकारी दिए। उनले मापदण्डका बारेमा अहिलेसम्म छलफल नभएको र चाँडै नै मापदण्ड बनाइने बताए। उनका अनुसार ज्येष्ठता, योग्यता, समय सापेक्ष, भौगोलिक र समावेशीकरण जस्ता मापदण्डका आधारमा पार्टीले मन्त्रीहरूको नाम पठाउने बताए।

नेकपा (एस) का महासचिव वेदुराम भुसालले मापदण्ड बनाएर नै मन्त्रिपरिषद्‌मा पार्टीबाट व्यक्ति पठाउने बताए। उनले पार्टीले भूगोल, इतिहास, व्यक्तिको भूमिका, समुदाय जस्तालाई मापदण्ड बनाइने जानकारी दिए।

‘हामी मन्त्रिपरिषद्‌मा पार्टीका तर्फबाट सहभागी हुनका लागि मापदण्ड बनाउँदै छौँ’, उनले भने, ‘ती मापदण्डका आधारमा मात्र हामीले मन्त्रिपरिषद्‌मा सहभागी गराउँछौ।’ उनले चाँडै नै बस्ने स्थायी कमिटी बैठकबाट ती मापदण्ड बनाउने र त्यसैको आधारमा मात्र मन्त्रिपरिषद्‍‌मा व्यक्ति पठाउने बताए।

नेकपा (एस) ले अहिलेको मन्त्रिपरिषद्‌मा पाँचवटा मन्त्रालय पाउने संभावना छ।

प्रकाशित मिति : १९ आश्विन २०७८ मंगलबार ००:००  ८ : ५४ बजे