१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कपिलवस्तुको वाणगंगा ठाकुरापुरमा ५० शैया क्षमताको हस्पिटल सञ्चालनमा



चेतन विष्ट, वाणगंगा ।
नीजि क्षेत्रको ठूलो लगानीमा कपिलवस्तुको चारनम्बर ठाकुरापुरमा ५० शैयाको हस्पिटलको एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ ।

नवदुर्गा अन्तरगत बुधबार महाअष्टमी पर्वको अवसर पारेर युनाईटेड नेशनल हस्पिटलको एक भव्य समारोहका साथ शुभारम्भ गरिएको हो ।

हस्पिटल सञ्चालकले जिल्लामै सबैभन्दा ठूलो सुविधा सम्पन्न अस्पताल आफुहरुले सञ्चालनमा ल्याएको बताएका छन् । अस्पताल ५० शैयाको हो भने बुटवल, भैरहवा, काठमाडौं जस्ता स्थानमा पुगेर विरामीले गर्ने उपचार यहीँ पाउन सकिने अस्पताल सञ्चालक बताउँछन् ।

विगत १८ बर्ष देखि चारनम्बर जीतपुरमा रही भाडाको घरबाट सञ्चालन हुँदै आएको युनाइटेड हस्पिटलले आफ्नो सेवा विस्तार गरी आफ्नै भवनबाट ५० शैयाको मान्यता प्राप्त गरी विरामीलाई सेवा दिन थालेको हो ।

चारनम्बर देखि झण्डै २ किलोमिटरको दुरीमा यो हस्पिटल रहेको छ । जीतपुर–तौलिहवा सडकखण्डको नजिकै रहेको यो हस्पिटलको बुधबार यस क्षेत्रका प्रतिनिधिसभा सांसद चक्रपाणी खनाल, अतहर कमाल, प्रदेश सांसद विष्णु पन्थी लगायतले उद्घाटन गर्नुभएको हो ।

हस्पिटलको उद्घाटन पश्चात बोल्दै पूर्वमन्त्री तथा संघीय सांसद खनालले अब बाणगंगामा प्राइभेट सेक्टर र सरकारी सेक्टर दुबै मिलेर नागरिकको सेवामा लाग्नुपर्नेमा जोड दिनुभयो । सरकारको मुख्य लगानी स्वास्थ्य क्षेत्र हुन नसकेको भन्दै उहाँले नेपालीले सर्वसुलभ स्वास्थ्य उपचार पाउन नसक्नु राज्यकै कारण भएको बताउनुभयो । शिक्षा, स्वास्थ्य र रोजगार सरकारले नैै उपलब्ध गराउनुपर्नेमा उहाँको जोड थियो ।

संघीय सांसद मुसलमानले यो हस्पिटल बाणगङ्गा जिल्लाका सम्पूर्ण भागलाई समेट्न सक्ने र पाएक पर्ने ठाउँमा रहेको बताउँदै यसले व्यवसायिक गति लिने विश्वास व्यक्त गर्नुभयो । यस्ता अत्याधुनिक अस्पताल यहाँ संचालनमा आउनु कपिलवस्तुवासीका लागि मात्र नभएर छिमेकी जिल्ला अर्घाखाँची, दाङ, प्युठान लगायतका जिल्लाका बासिन्दाको लागि पानि लाभदायक हुने बताउनु भयो ।

लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले जिल्लामै राम्रा सेवा सुविधा सम्पन्न अस्पताल भए पनि जिल्लाबासी त्यसको भरोसा नलागेर अन्यत्र जाने गरेको भन्दै यस्तो ठाउँमा अस्पताल खोल्नु निकै गाह्रो कुरा भएको बताउनुभयो । अब युनाइटेड हस्पिटलले विरामीको सुविधामा कुनै कन्जुस्याई नगरि काम गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा वाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणि अर्याल, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष दोलक घिमिरे, नगरका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम भट्टराई, नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलक बहादुर पछाई लगायतले बोल्नुभएको थियो ।

हस्पिटलले अबको एक वर्षमा डायलासिस सेवा लगायत विभिन्न प्रकारका विशिष्ट सेवा प्रदान गर्ने लक्ष्य राखेको प्रबन्ध निर्देशक सुन्दर आचार्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २७ आश्विन २०७८ बुधबार ००:००  ७ : २७ बजे