कम्युनिस्ट किन हुने ? यी हुन् १० मान्यता


काठमाडौं ।
कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट विचार र व्यवहार एवं कम्युनिस्ट नैतिकताबारे प्रशस्तै विवेचना भएका छन् । एउटा असल कम्युनिस्टले धर्म, संस्कृति, परम्परा र संस्कारहरुबारे कसरी सोच्दछ रु चिन्तनदेखि व्यवहारसम्मका श्रृंखलामा उसले आफूलाई कता र कसरी उभ्याउँछ ?

१- कम्युनिस्टहरु भौतिकवादी हुन्छन् । उनीहरु हरेक कुरा विज्ञानको कसीमा जाँच्ने कोशिस गर्दछन् । कम्युनिस्टहरु ईश्वर, धर्म, पूर्वजन्म, पुनर्जज्म, स्वर्ग, नर्क, परलोक, बैकुण्ठबासजस्ता काल्पनिक मान्यताको विरोध गर्दछन् । एउटा सच्चा कम्युनिस्टले त्यो कुरा मात्र मान्दछ, जुन विज्ञानको प्रयोगशालाबाट प्रमाणित वा प्रमाणित हुने सम्भावना राख्दछ । हामीकहाँ भौतिकवाद र आध्यात्मिक चिन्तन मिलाएर छुट्टै दर्शन बनाउने वकालत र अभ्यास गरेको पाइन्छ, जुन मार्क्सवाद होइन, पुँजीवादकै अपवित्र सन्तान मात्र हो ।

२- कम्युनिस्टहरू द्वन्द्ववादी हुन्छन् । द्वन्द्ववादले हो पनि भन्छ, होइन पनि भन्छ । हरेक वस्तु, घटनाक्रम र समाजका प्रत्येक घटनालाई सकारात्मक र नकारात्मक कोणबाट विश्लेषण गर्नु द्वन्द्ववाद हो । द्वन्द्ववादले कुनै पनि वस्तु, घटना वा व्यक्तिलाई सतप्रतिशत सही वा सतप्रतिशत गलत मान्न सक्दैन । प्रत्येक वस्तु, घटना वा व्यक्तिमा केही राम्रा र केही नराम्रा गुण हुन्छन् । हामीले राम्रा र नराम्रा गुणहरुको तुलनात्मक अध्ययन गर्नुपर्दछ, अनि राम्रा र नराम्रा गुणमध्ये कुन गुण बढ्ता छन्, त्यसकै आधारमा निष्कर्ष निकाल्नुपर्छ । एउटा कुनै कुरा चित्त नबुझे त्यसलाई पूर्णतः गलत र एउटा गुण राम्रो लागे त्यो पूर्णतः ठीक ठान्ने प्रवृत्ति द्वन्द्ववाद होइन, अधिभूतवाद हो ।

३- कम्युनिस्टहरु आलोचनात्मक र क्रान्तिकारी हुन्छन् । एक पत्रकारले माक्र्सलाई सोधे, ‘‘तपाईलाई सबैभन्दा मनपर्ने शुत्रवाक्य के हो ?’’ मार्क्सको जवाफ थियो, ‘‘हरेक कुरामाथि शंका गर ।’’ आलोचनात्मक चेतबाट कुनै पनि वस्तु वा घटनाक्रमको अध्ययन गर्नु माक्र्सवाद हो । तर, त्यो आलोचना ध्वंशका लागि होइन, सिर्जनाका लागि हुनुपर्छ । त्यो आलोचना अग्रगति र सामाजिक रुपान्तरणका लागि हुनुपर्छ ।

४- कम्युनिस्टहरु रुढीवाद र अन्धविश्वासका विरोधी हुन्छन् । उनीहरु बोक्सी, भूतप्रेत, ईश्वर लगायत कुनै पनि अलौकिक शक्तिमा विश्वास गर्दैनन् । आफ्ना पूर्खाहरु मरेपछि बैतरणी तर्ने, स्वर्ग वा नर्क जाने कुरामा विश्वास गर्दैनन् । बरु, त्यसको स्थानमा प्रगतिशील संस्कार र मान्यता स्थापित गर्ने प्रयत्न गर्दछन् । तर, हामीकहाँ बिरामीलाई अस्पताल नलगेर धामी–झाँक्रीकहाँ लैजाने, मान्छे मरेपछि गौदान लगायतका दान गर्ने, पितृका नाममा पिण्ड दिने, अनि आफूलाई सच्चा कम्युनिस्ट भन्नेहरुको कमि छैन । भूतप्रेत मन्साउने, ग्रहदशा हेराउने र काट्नेहरु आफूलाई कम्युनिस्ट भन्दछन् । मार्क्सवादी सिद्धान्तअनुसार उनीहरु कम्युनिस्ट होइनन् । बरु, आध्यात्मिक दर्शनका अनुयायी हुन् ।

५- कम्युनिस्टहरु विज्ञान र अन्वेषणमा विश्वास गर्दछन्। उनीहरु हरेक विषयमा प्रश्न गर्दछन् । कुनै पनि कुराको वैज्ञानिकता पुष्टि हुन प्रयोगको नतिजा खोज्दछन् । मार्क्सवादले ब्रह्माण्डका कैयौं कुराको अन्वेषण हुन बाँकी नै रहेको तथ्यलाई स्वीकार गर्दछ । तर, कहिल्यै पनि काल्पनिक कुरामा विश्वास गर्दैन । कतिपयले मानव मस्तिकको क्षमता, भावना र मानिसको श्वासप्रश्वास प्रक्रियाको जटिलतालाई अलौकिक शक्तिसँग जोड्ने प्रयत्न गर्दछन् र कम्युनिस्टहरु त्यसको रनभुल्लमा पर्दछन्। तर, मार्क्सवादले त्यसमा पनि तथ्यको खोजी गर्दछ ।

६- कम्युनिस्टहरु कुनै बहादुर, वीर वा शक्तिमा विश्वास गर्दैनन्, जनतामा विश्वास गर्दछन् । माओत्सेतुङ भन्छन्, ‘‘इतिहासका निर्माता जनता हुन् ।’’ माओ यतिमै रोकिँदैनन्, उनी थप्छन्, ‘‘जनता पानी हुन्, अनि कम्युनिस्ट पार्टी माछा, पानीबिना माछाको अस्तित्व असम्भव छ ।’’ जनताले चाहेमा इतिहास बदल्दिन सक्छन् । जनता नै सार्वभौम हुन्छन् । हरेक अग्रगति वा अधोगतिमा जनताको भूमिका नै निर्णायक हुन्छन् । त्यसकारण कम्युनिस्टहरुले जनताको जनमतको सधैं सम्मान गर्नुपर्छ ।

७- कम्युनिस्टहरु नीजि सम्पत्तिका विरोधी हुन्छन् । मार्क्सवादी सिद्धान्तको अन्तिम लक्ष्य हो निजी सम्पत्तिको अन्त्य । कम्युनिस्ट समाजको उन्नत चरणमा धनी र गरीबको भेद हुँदैन, गाउँ र शहरको भेद हुँदैन, शारीरिक श्रम र मानसिक श्रमको भेद हुँदैन । साम्यवाद त्यस्तो आधुनिक समाज हो, जहाँ मानिसहरु स्वतन्त्र रुपले उच्च नैतिक धरातलमा रहन्छन्। सत्ता संघर्षमा पराजित पुँजीपति वर्ग आफ्नो नीजि सम्पत्ति फर्काउन अन्तिमसम्म लडिरहन्छ । त्यतिबेला कम्युनिस्टहरुसँग सत्ताको हतियार चाहिन्छ, जुन हतियार पुँजीवाद फर्काउन चाहने पुँजीपति वर्गका विरुद्ध प्रयोग गरिन्छ । तर, पुँजीवादीहरु पार्टी बाहिर मात्र रहँदैनन्, कम्युनिस्ट पार्टीभित्र पनि हुन्छन्, तिनीहरु निजी सम्पत्तिका पक्षमा उभिन्छन् । उनीहरु पनि समाजवादका विरुद्ध उभिन्छन् । तसर्थ, कम्युनिस्टहरुले पार्टीभित्र र बाहिरका पुँजीवादीहरुसँग लडिरहनुपर्छ, व्यक्तिगत सम्पत्तिको विरोधमा उभिनुपर्छ ।

८- कम्युनिस्टहरु भीडमा होइन, सत्यमा विश्वास गर्दछन् । कम्युनिस्ट सिद्धान्तको एउटा बलियो शर्त छ, ‘अल्पमत होस्। तर, सत्यको बाटो नछोड । तिमीसँग सत्य छ भने त्यो एकदिन शक्तिमा बदलिन्छ ।’ लेनिनको भाषामा ‘प्रतिकूलताभित्र अनुकूलता खोज्नु’ नै माक्र्सवाद हो । सत्य भुलेर भीडको पछि लाग्नेहरु कम्युनिस्ट हुन सक्दैनन् । त्यो मात्र असल कम्युनिस्ट हो, जसले जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सत्यको वकालत गर्दछ ।

९- कम्युनिस्टहरुले धर्म र संस्कृतिलाई एक–अर्काका पूरक ठान्दैनन् । धर्म र संस्कृति एउटै चाहिँ होइनन् । धर्म कुनै अलौकिक शक्ति र दर्शनप्रतिको अन्ध समर्थन हो, जुन परिवर्तन हुँदैन । तर, संस्कृति समकालीन समाजको आर्थिक–सामाजिक परिस्थितिको उत्तरदेन हो, त्यो सधैं गतिशील हुन्छ । धर्म कम्युनिस्ट पक्षधर वा विरोधी हुँदैन । तर, संस्कृति प्रगतिशील वा रुढीवादी हुन सक्छ । तसर्थ, कम्युनिस्टहरु हरेक वस्तु र घटनाक्रमभित्र रहेको धार्मिक पक्षमा अलग रहन्छन्, प्रतिगामी संस्कृतिको विरोध गर्दछन् र संस्कृतिका प्रगतिशील पक्षको वकालत गर्दछन् ।

१०- कम्युनिस्टहरुले सांस्कृतिक रुपान्तरण बिना राजनीतिक रुपान्तरण टिक्न नसक्ने मान्यता बोक्दछन् । जुनकुनै राजनीतिक व्यवस्था पनि प्रगतिशील संस्कृतिको जगमा उभिएको छैन भने त्यो एकदिन ढल्छ नै। सांस्कृतिक रुपान्तरण भन्नाले मानिसको दार्शनिक चिन्तन र सोच्ने तरीकामा परिवर्तन हो । चिन्तनधाराको रुपान्तरण बिना गरिने संस्कृतिका पक्षको रुपान्तरणले मात्र साम्यवादी आदर्शको गुरुत्व बोक्न सक्दैन । यहाँ संस्कृतिको अर्थ दार्शनिक चिन्तन र विधारधाराको रुपान्तरणको प्रश्न हो ।

मनहरि तिमिल्सिनाद्वारा लिखित पुस्तक ‘कम्युनिस्ट स्कुल’को एक अंश ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस