१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कृष्णनगरमा दशैँ पछी फेरि बढ्न थाले झाडापखालाका बिरामी



काठमाण्डौ ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फेरि झाडापखालाका बिरामी बढ्न थालेका छन् । दशैँ अगाडिसम्म बिरामीको सङ्ख्या निक्कै कम भएकामा दशैँ पछाडि भने बिरामीको सङ्ख्या फेरि बढ्न थालेको हो ।

असोजको १८ गतेदेखि झाडापखालाको प्रकोप फैलिएकोमा त्यो दिन शिवराज अस्पतालमा उपचार गर्न जाने बिरामीको सङ्ख्या ३ सय ९८ सम्म पुगेको थियो । त्यसको केही समय, त्यही हाराहारीमा बिरामी उपचारका लागि गएकामा दशैँ भन्दा एकरदुई दिन अगाडि १० देखि १५ जनासम्म मात्र पुग्ने गरेका थिए । तर दशैँ सकिएलगत्तै फेरि बिरामीको सङ्ख्या बढ्न थालेको हो ।

अहिले दैनिक ३० देखि ३५ जनासम्म उपचारका लागि पुग्ने गरेका शिवराज अस्पतालका डाक्टर मुकेश चौधरीले जानकारी दिनुभयो । अहिले स्वास्थ्यकर्मीको टोली प्रभावित ठाउँमा गएर जनचेतना फैलाउने लगायतको काम गरिरहेको छ।

अहिले त्यस क्षेत्रमा ७ जना डाक्टर र ५० जना बढी स्वास्थ्यकर्मी उपचारमा खटिएका छन् । कृष्णनगर नगरपालिकामा हैजा फैलिएको यस अगाडि नै पुष्टि भइसकेको छ । तर मानिसहरुमा चेतनाको कमीका कारण खानपान र सरसफाइमा ध्यान दिन नसकेकाले फेरि झाडापखालाका बिरामी फैलिएका हुन सक्ने उहाँले बताउनुभएको छ ।

झाडापखालाबाट बच्न पानी उमालेर मात्रै पिउन, पानीको मुहान वरिपरि सफा राख्न, शौचालयमा मात्र दिसा पिसाब गर्न उहाँले सुझाव दिनुभएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८ शुक्रबार ००:००  ३ : १८ बजे