१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

सुन र चाँदी मूल्य बढ्यो‚ कोटा बढाउन व्यवसायीको माग




काठमाडौं ।
नेपालको सुनचाँदी बजारमा केही दिन अघिदेखि लगातार बढिरहेको छापावाल सुनको मूल्य आज पनि प्रतितोला २०० रूपैयाँले उकालो लागेर ९४ हजार ६०० रूपैयाँ कायम भएको छ। गत शुक्रबार प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको सूचीअनुसार आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १०० रूपैयाँ छ। अघिल्लो दिन प्रतितोला ९३ हजार ९०० रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै‚ आज चाँदीको मूल्य शुक्रबारका तुलनामा १० रूपैयाँले उकालो लागेर एक हजार २९५ रूपैयाँ कायम भएको छ। चाँदी शुक्रबार प्रतितोला एक हजार २८५ रूपैयाँमा कारोबार भएको थियो।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८६४ डलर आसपासमा कारोबार भइरहेको छ।

सुनको कोटा बढाउन व्यवसायीको माग

महासंघले सुनको कोटा दैनिक ३० किलो बनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ। हालको आपूर्ति व्यवस्थाले बजारको माग धान्न नसकेको भन्दै आपूर्ति व्यवस्था बढाउन राष्ट्र बैंकसँग आग्रह गरेको महासङ्घका अध्यक्ष शाक्यले जानकारी दिए।

हाल वाणिज्य बैंकमार्फत सुनको आपूर्ति हुँदै आएकोमा त्यसलाई व्यवस्थित र प्रभावकारी वनाउन ‘गोल्ड बैंक’मार्फत आपूर्ति व्यवस्था मिलाउनुपर्ने तथा सुनको वितरण काठमाडौँ केन्द्रित रहेकोले त्यसलाई विकेन्द्रित गर्दै तोकिएका नाकाबाट कच्चा सुन पाउने व्यवस्था मिलाउनुपर्नेमा अध्यक्ष शाक्यले जोड दिए। हाल राष्ट्रबैंकले सुनको दैनिक कोटा २० किलो रहने व्यवस्था गरेको छ।

प्रकाशित मिति : २८ कार्तिक २०७८ आइतबार ००:००  १ : २१ बजे