१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

झुँगाबासीले भने ‘फोहर आफै व्यवस्थापन गछौँ, नगरको गाडी चाहिन्न’



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा रहेको गजेहडा बाणगंगा भूपु सैनिक खानेपानी अन्तर्गत वडा नम्बर ४ झुँगा इकाईको साधारण सभा सम्पन्न भएको छ । इकाइका अध्यक्ष हेम बहादुर गाहाको अध्यक्षतामा मंगलबार कुवेरापुरको चौपारीमा सम्पन्न साधारण सभामा खानेपानीको स्वच्छता र सरसफाइ सम्बन्धि विविध विषयमा छलफल भएको थियो ।

मुख्य गरी झुँगामा खानेपानी र सरसफाइ ब्यवस्थापनका सबालमा देखिएका समस्या, पाइप तथा धाराको अवस्था, खानेपानीको जाँच लगायतका विषयमा झुँगा टोल विकास समितिका अध्यक्ष हर्क बहादुर हमाल र इकाइका अध्यक्ष गाहाले जानकारी गराउनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि झुँगा कुलापानी सिमितिका अध्यक्ष कुपिन्द्र प्रताप सेनले गाउँको विकास, खानेपानीको स्थिति, कुलाको फोहर ब्यवस्थापन आदिका विषयमा धारणा राख्नु भएको थियो । समितिका सल्लाहाकार चन्द्रकान्त भट्टराइले र पत्रकार चन्द्रकान्त न्यौपानेले सरसफाइमा आफै जागरुक हुनुपर्ने बताउँदै गाउँलाई सफा र हराभरा बनाउनु पर्ने बताउनु भयो ।

यसैबीच झुँगाबासीले फोहर मैला ब्यवस्थापनको लागि नगरको गाडी आवश्यक नरहेको बताएका छन् । नगरले फोहरको उचित ब्यवस्थापन गर्न नसकेको भन्दै आफूहरुको फोहर अन्त लगेर डम्पिङ गराउनको लागि ट्याक्टर किन पठाउनु पर्यो ? भन्दै टोल समितिसंग प्रश्न गरे । झुँगाका समाजसेवी राजु सेनले भन्नुभयो ‘झुँगाको फोहर लगेर बाणगंगाको पुलमा जम्म गर्ने होला । अस्ति त्यहाँ जाँदा गन्हाएर बाटो हिँडिसाध्य भएन । हाम्रो फोहरले त्यहाँका जनतालाई किन सास्ती दिने ? हामीलाई गाडी चाहिएन । हामी आफ्नै घर र बारीमा जम्मा गर्छौँ । हामी घरघरमा फोहर ब्यवस्थापन गर्ने काम सुरु गछौँ । पहिले नगरले स्थायी डम्पिङ बनाओस्, अनि मात्र ट्याक्टर डुलाऔँला।’

उहाँले नगर नै फोहर मैला ब्यवस्थापनमा असफल भएकाले आफ्नो गाउँ आफै सफा गरौँ अभियान झुँगाबाट सुरु हुने बताउनु भयो । २ सय बढी घर धुरी भएको झुँगाका केहीले यस विषयमा विमति राखे पनि धेरैले फोहर संकलन गर्न नगरको गाडी जरुरी नरहेको बताए ।

कार्यक्रममा बोल्नेहरुले अब गाउँलाई सरसफाइमा नमुना बनाउनु पर्ने भन्दै फोहरको श्रोत नै कम गर्ने विषयमा गाउँबासी एकजुट हुनुपर्ने बताए । त्यसको लागि गाउँमा वृहत् भेला राख्न जरुरी रहेको पत्रकार न्यौपानेले बताउनु भयो ।

साधारण सभाले भूपु सैनिक खानेपानीको मुल समितिलाई पनि खानेपानीको शुद्धता र सरसफाई सम्बन्धि आवश्यक सुझाव सल्लाह लिखित रुपमा पठाएका छन् । कार्यक्रममा समितिका सल्लहाकार गोविन्द पौडेल, मुहान क्लवका अध्यक्ष रविन्द्र प्रताप सेन, सल्लाहाकार राजन सेन, श्रृङ्गीघाट सामुदायिक बनका प्रतिनिधि तुलसी शर्मा, दुर्गा मन्दिर निर्माण समितिका संयोजक अर्बिन मल्ल लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : १४ मंसिर २०७८ मंगलबार ००:००  ३ : ३५ बजे