४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

केपी ओली सर्वभौम संसदसँगै कम्युनिस्ट आन्दोलनका हत्यारा : मेटमणी चौधरी



नवलपरासी ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले केपी ओली नेपालको सर्वभौम ससंद र कम्युनिस्ट आन्दोलनको हत्यारा भएको आरोप लगाएका छन् ।

पार्टीको नवलपरासी जिल्ला भेला तथा पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै नेता चौधरीले दुईदुई पटक ससंदको विघटन गर्ने र दुईतिहाईको हाराहारी जनताको विश्वास बोकेको कम्युनिस्ट आन्दोलन समाप्त पार्ने काम गरेकाले ओली संसदसँगै कम्युनिस्ट आन्दोलनको हत्यारा भएको आरोप लगाएका हुन् ।

उनले २००६ सालमा ४ जनाले दर्ता गरेको कम्युनिस्ट पार्टी २०७४ सालमा दुई तिहाई नजिक पुगेपछि दलाल पुजीवादीहरुसँग मिलेर ओलीले कम्युनिस्ट आन्दोलन समाप्त पार्न खोजेको बताए । उनले आगामी निर्वाचनमा ओलीले जनतासँग मत माग्ने अधिकार समेत गुमाएको वताए । ‘के केपी ओली आगामी निर्वाचनमा पनि भोट दिनुस हामी ससंद विघटन गरेर देखाउँछौ भनेर भोट माग्न आउलान त ?’ उनले प्रश्न गरे ।

उनले एमालेको चुनाव चिन्हकै भरमा पहिलो पार्टी वन्ने सपना सपनामै सिमित हुने पनि बताए । ‘चिन्हले पहिलो पार्टी वन्ने भए नेपाली काङ्ग्रेस सधै पहिलो पार्टी हुनुपर्ने हो,’ उनले भने,-‘किन कहिले काङ्ग्रेस, कहिले कम्युनिस्ट पार्टीहरु पहिलो भए, के निर्वाचनमा चिन्हको कारण हो त ?’

प्रतिनिधिसभा सदस्य समेत रहेका चौधरीले ओलीमा राजनीतिक विचलन आएको र व्यक्तिवादी प्रवृत्ति हावी भएकाले आफूहरुले विद्रोह गरी कम्युनिष्ट आन्दोलनलाई बचाउन नयाँ पार्टी बनाएको जिकिर गरे ।

प्रकाशित मिति : १६ मंसिर २०७८ बिहिबार ००:००  ६ : ४७ बजे