१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

७ नम्बर वडाका ज्येष्ठ नागरिकको सम्मान, जाडोमा न्यानो ‘ज्याकेट’ प्रदान



मायादेवी अनलाइन, बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ ले लक्षित वर्गको कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकलाई ज्याकेट (हुड) प्रदान गरेर सम्मान गरेको छ । विगतमा अन्य कार्यक्रम गरेको वडाले जाडो बढ्दै गर्दा यसपाली ज्येष्ठ नागरिकलाई समस्या हुने भन्दै टोपीसहितको न्यानो ज्याकेट वितरण गरेर सम्मान गरेको हो ।

बुधबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी, विशिष्ट अतिथि नगरपालिकाका उपमेयर चक्रपाणी अर्याल, वडाध्यक्ष विष्णु गिरी, समाजसेवी नेत्र गिरी लगायतले ७० बर्ष उमेर पार गरेका वडाका ३ सय बढी वृद्धवृद्धालाई कपडा प्रदान गर्नुभएको थियो । ज्याकेट पाएपछि आमाबुबा खुसी भएका छन् ।

लक्षित वर्गका लागि प्रदान गरिएको ज्याकेट दुरुपयोग नगर्न वडाध्यक्ष गिरीले सबैमा आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘निकै क्वालिटीको ज्याकेट छ । ढुक्कसंग लगाउनु, तिनचार बर्ष केही हुँदैन । यो अहिलेको फेसनमा आएको ज्याकेट पनि हो । घरका अरु सदस्यले पनि राम्रो देखेर लगाउन खोज्लान् । यो केवल तपाइलाई भनेर प्रदान गरिएको हो । यताउता गर्दा हजुरले लगाएको देख्न पाऊँ।’ ज्येष्ठ नागरिकका सुझाव सल्लाहा लिँदै अगाडी बढेको भन्दै उहाँले जनप्रतिनिधि भएर चारबर्षसम्म गरेका कामको बेलिविस्तारसमेत सुनाउनु भयो ।

प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थीले ज्येष्ठ नागरिक अनुभवका सम्पत्ति रहेको बताउनुभयो । ज्येष्ठ नागरिकसंग भएको ज्ञान सिप देशको सम्पत्ति र गहना भएको भन्दै सबैले उहाँहरुलाई सम्मान गर्नुपर्ने उहाँको भनाई छ । उहाँले भलवाडको विकासको लागि आफू दत्तचित्त रहेको बताउनु भयो । नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले ज्येष्ठ नागरिक सम्मानका लागि वडा नं ७ ले गरेको रचनात्मक कामको प्रसंसा गर्दै नगरको विकासबारे संक्षेपमा जानकारी दिनुभयो ।

कार्यपालिका सदस्य शाबित्री थारुले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा तत्कालिन मोतिपुर गाबिका अध्यक्ष समाजसेवी नेत्र गिरी, वडा सदस्य मुम बहादुर पाण्डे, कमला बिक, टोल बिकास संस्थाका पदाधिकारी, पत्रकार लगाएतको सहभागिता थियो । कार्यक्रमको संचालन वडा सचिव कृष्ण प्रसाद खनालले गर्नुभएको थियो ।

प्रकाशित मिति : ८ पुस २०७८ बिहिबार ००:००  ८ : ५८ बजे