३२ असार २०८१, सोमबार | Tue Jul 16 2024

त्यो मृत्यु बाँच्ने छ जिउँदामा सम्झना भएर ‘अलविदा अनुराग !’




चन्द्रकान्त न्यौपाने, चारनम्बर ।
नेपाली साहित्यकी मूर्धन्य साहित्यकार विष्णु कुमारी‘बाइबा’ (पारिजात) ले आफ्नो ‘मृत्यु’कवितामा लेखिकी थिइन् ।

धेरै अघि एक साँझ
चराहरु निन्याउरा भएर हाँगातिर
बसिरहेका बेला
घरका समस्याहरुले पिल्सिएर
आफै पनि झोक्रिएर बसिरहेको बेला
मलाई एउटा कविता लेख्न मन लाग्यो
मृत्यु अभिशाप हो
मृत्यु विसंगति हो
मृत्यु जीवनको अन्तिम हो भनेर
त्यही शिलशिलामा पारिजात कवितांसमा लेख्नुहुन्छ
मृत्यु बाँच्दा रहेछन्
जिउँदाहरुको मनमा सम्झना भएर
कहाँ मर्दा रहेछन् र मृत्युहरु ?
जाग्दा रहेछन्
संघर्षकारीहरुको पाखुरीपाखुरीमा
मुट्ठी भएर
कसम भएर
अठोट भएर
प्रतिज्ञा भएर
जयूँदै जाग्दारहेछन्
बल्झिँदार रहेछन्

प्रिय मित्र, अनुराग पाण्डे ! तिम्रो मृत्यु पनि आज साँच्चिकै बाँँच्दो छ । आज तिम्रो पार्थिव शरीर छैन तर, पारिजातले कवितामा भने जस्तै जिउँदाहरुको मनमा सदा सम्झना भएर बाँचिरहने भएर गएका छौ । तिम्रो मृत्यु अजर-अमर रहने छ । प्रिय मित्र पाण्डेप्रति हार्दिक श्रद्धाञ्जली ! शोकसन्तप्त र भावविह्वल परिवारजनप्रति गहिरो समवेदना !

२०७८ पौष १२ गते म चाँडै सुतेँ । घरको काम ब्यवस्तताले औधि थाकेको म राति ९ बजेतिर नै विस्तारामा पल्टिसकेको थिएँ । त्यसपछि लास भएर सुतिए छ । त्यसपछि केके भयो केही पत्तो भएन । एक्कासी विहान सवा ५ बजेतिर ब्युाझिएँ । यो बेलासम्म केके हुन भ्याए छ !
उठ्ने बित्तिकै चार्जमा रहेको मोबाइल ओछ्यानबाटै थुत्दै यसो मोबाइलमा फेसबुक हेरेँ ।

सुरुमै पोष्ट देखि हालेँँ माननीय सांसद विष्णु पन्थीको । उहाँले लेख्नु भएको थियो- “आजको रात मेरो जीवनको दोस्रो खुसी लुटिएको कालो रात भयो, १७ वर्ष पछि फेरि हामीमाथि अर्को भयानक असह्य बज्रपात र दुख आइलाग्यो । दैव तेरो खेल ? कार दुर्घटनामा परिवारको होनहार सदस्य प्रिय छोरा (भतिज) अनुराग पाण्डेलाई गुमाएका छौ ।”

सुरुमा यो लाइन पढ्दा मैले मेरै दाजु अनुराग पाण्डे हो भन्ने बुझ्न सकिनँ । किनभने त्यहाँ फोटो पनि थिएन । सामान्य नै लिएँ । कमेन्टमा ‘रिप’ त लेखेँ तर थाहा थिएन मलाई प्रिय मित्र अनुरागलाई रिप लेखेको रहेछु भन्ने । त्यसपछि सरर फेसबुक सार्दै गर्दा पत्रकार हरि अधिकारीको अर्को पोष्ट देखेँ ‘अकल्पनीय घटना प्रिय साथी ।’

यसपछि मनमा डरले ढ्याङ्ग्रो ठट्यायो । उकुसमुकुस भएँ । मुटुमा चाल बढ्यो । के भए छ भनेर, सररर फेसबुक सार्दै थिएँ । साथीहरुको पोष्टमा धमाधम आइरहेको थियो बिभिन्न सम्बोधनमा, हार्दिक श्रद्धाञ्जली अनुराग ! अलविदा अनुराग पाण्डे ! झुटो सावित होओस् यो मृत्यु ! अकल्पनीय दुर्घटना स्वर्गमा बास् होहोस् ! बैकुण्ठमा बास होहोस् ! यसै शिलशिलामा मायादेवी अनलाइनमा पनि पढेँ प्रिय मित्रको मृत्युको खबर । त्यस पछि नपत्याइ सुखै भएन । अनि मैले पनि फेसबुकमा दाजुको फोटोसहित हार्दिक श्रद्धाञ्जली लेखेँ । त्यसपछि प्रिय मित्रको स्मृतिमा ‘ए मृत्यु’ शीर्षकमा एक कविता पनि लेखेर उहाँको तस्विरसहित अर्को पोष्ट गरेँ फेसबुकमा ।

ए मृत्यु
तँलाई यसकारण
कठोर मान्दा रहेछन मान्छेहरु
तँ यतिसम्म निर्दयी बनिस् आज ?
त्यो सुगन्धित फूललाई
चुँडेरै छोडिस् अकालमा
त्यो फूलको जन्मले पक्कै तँलाई नै
पछ्याईरहेकै त थियो होला
जसरी तँलाई पछ्याई रहेछ
सबैको जन्मले यस् धरामा
उनको रमाउने गन्तव्यसम्म त
रमाउन दिन सक्नुपर्दथ्यो
अनि रहन दिन सक्नुपर्दथ्यो
उनका सपनामा
उनका परिवारमा
उनको समाजमा
उनकी श्रीमतीमा
तर के गरिस् यस्तो तैँले
खै कसरी पत्याउनु ?
ए मृत्यु !
रोज्न नसक्ने रैछस् तैँले
यहाँका फाल्तु कुकुरहरुलाई
जसले समाजलाई बनाइरहेछन् ।
दैनिक दुर्गन्धित !

प्रिय मित्रको कार दुर्घटनामा परेर असामयिक निधन भएको रहेछ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ पिपरा स्थायी घर भएका अनुराग सवार कार बा ६ च ११६४ नम्बरको कार राति १० बजेतिर बाणगंगाको दरखास्तमा दुर्घटनामा परेको रहेछ । गोरुसिंगेतर्फ जाने क्रममा आफैले चलाएको कारलाई सुरुमा ट्रकले ठक्कर दिए छ । त्यसपछि कार बससंग ठोक्कर खान पुग्दा पाण्डेको ज्यान गयो नै उपचार गर्न लैजाने क्रममा । कारमा सवार २ जना सुदिप खनाल र राजेश शर्मा पनि गम्भीर घाइते भएका छन् ।

कार कसरी ट्रकसंग ठक्कर खायो त्यो भने अझै अस्पष्ट नै छ । यद्यपी पाण्डेको निधनले सबैलाई स्तब्ध बनाएको छ । यस्तै कार दुर्घटनामा एक बर्षअघि यस्तै युवा सुरेश पाण्डे गुमाएका कपिलवस्तुबासीलाई यो खबरले झन् शोकाकुल बनाएको छ । दुखी बनाएको छ । पाण्डेले यहाँको आर्थिक, सामाजिक, शैक्षिक, मानवीय र औद्योगिक क्षेत्रमा पुर्याएको योगदान अतुलनीय छ । सबैँ स्मरणीय छ ।

एक दशक जति बैङ्किङ क्षेत्रमा करिअर बनाएका पाण्डेले एकता विकास बैङ्कबाट करिअर सुरु गरेका थिए । औपचारिक कक्षाको रुपमा एमबिएस हासिल गरेका पाण्डे शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कका लुम्बिनी प्रदेश प्रमुख थिए भने चार नम्बरमा शाखा प्रमुखको रुपमा कार्यरत थिए । उनी बैङ्कर्स क्लव बाणगंगाका अध्यक्ष समेत थिए ।

पाण्डेको निधनले नेपालकै बैङ्क तथा वित्तिय क्षेत्रमा ठुलो पहिरो गएको भनेर वित्तिय क्षेत्रका ब्यक्तिले सामाजिक संजालमा लेखेका छन् । उनको निधनपछि सामाजिक संजालमा देखिएका श्रद्धासुमन र उनीँप्रतिका शब्दले उनले के कमाएका रहेछन् भनेर पुष्टि हुन्छ ।
श्रीमती पार्वती पाण्डे, आमा, दाजु भाउजुको साथमा रहेका पाण्डेले ३ महिनाअघि असोजमा बुबालाई गुमाएका थिए ।

बाबुको मृत्युको पीडाको घाउ ओलाउन नपाउँदै स्वयम्ले यसरी छोडेर जाँदा आमा, श्रमती, दाजु, भाउजुमा कस्तो चोट परेको होला कल्पना पनि गर्न सकिन्न !

पाण्डेका धेरै चारित्रिक गुण थिए । सबैका मिजासिला पात्र थिए उनी । शालिन, भद्र, सधैभरि हँसिलो मुद्रामा रहने पाण्डे जोसंग पनि मुसुक्क हाँसेर बोल्ने गर्थे भने मैले जानेबुझेसम्म कसैलाई बाँचुञ्जेल नराम्रो गरेनन् उनले । आफूसंग भएसम्म सहयोग गर्ने प्रवृत्तिले नै उनले थोरै समयमा धेरै कमाएको मलाई अनुभुति छ ।

बालबच्चा, बृद्धबृद्धा अनि आफू समानका जोकोहीसंग सजिलै घुलमिल गर्न स्वभाव उनमा थियो । बैङ्कसंगै बिभिन्न सामाजिक क्लव र उद्योगमा लगानी गरेका पाण्डेले बाणगंगाको विकासमा खेलेको भूमिका अतुलनीय छ ।

कपिलवस्तु जेसिजका पूर्व अध्यक्ष (२०१५) तथा रोटरीमा समेत काम गरेका पाण्डेले थुप्रै मानवीय काम गरेर सामाजिक क्षेत्रमा ठुलो योगदान दिएका थिए । नियमित रक्तदाताको रुपमा रही कयौँको ज्यान बचाउन योगदान दिएका पाण्डेले आज आफ्नै ज्यान बचाउन भने असमर्थ भए । उनी सिद्धार्थ क्याम्पसका पूर्व प्राध्यापकसमेत थिए ।

पछिल्लो समय प्रिय मित्रसंग मेरो ३ महिनाअघि उनकै कार्यालयमा छोटो भेट भएको थियो । भेटका क्रममा उनले भन्थे ‘चन्द्र के छ हालखरबर ? रेडियो कस्तो चलिरहेछ ? के सहयोग गर्नु पर्यो भन्नु है ?’ उनको को यो भनाइले म कृतज्ञ त थिएँ नै कति सहयोगी चरित्र ! थप प्रभावित भएको थिएँ ।

कुनैकुनै बेला प्रिय मित्रसंग अनौपचारिक बसाई पनि हुन्थ्यो । कहिल्यै पनि उनमा वैरभाव देखिदैनथ्यो । शत्रुलाई पनि साथी देख्ने स्वभावकै कारण उनको नेतृत्वमा साइन बैङ्कले चारनम्बरमा अपत्यारिलो सफलता हासिल गरेको मैले बुझेको छु । पाण्डेको ब्यक्तिक छवि पनि निकै राम्रो थियो । विवादमा आउने गरी उनको चरित्रमा दाग लागेको मैले संगत गर्दासम्म थाहा पाइनँ । मित्रका धेरै राम्रो गुणहरु थिए भने उनमा कमाउने अनि साथीसंग औधी रमाउने खालको बानी पनि थियो ।

उनको उमेर समूहका युवाको लागि त अनुराग प्रेरणा नै थिए । ३८ बर्षको उमेरमा उनले जेजति ऐश्वर्य, ब्यवसायिक, पेशागत र सामाजिक जीवनमा सफलता हासिल गरेका थिए । त्यसले सबैलाई लोभ्याउँथ्यो । म स्वयम् पनि उनको सरल चरित्र र मिहिनेत गर्ने बानीको अनुयायी हुँ । उनको अन्तिम पोष्टमा थियो बाणगंगाकी दुवै मिर्गौला पीडित सुरक्षा पौडेललाई सहयोगको लागि अपिल । फोटोसहित उनले लखेका थिए Please help her my friends, relatives, family.

तर के गर्नु ! कालले यस्तै अमूल्य रत्नहरुलाई पर्खेर बसेको हुने रहेछ । ‘मृत्यु बाँच्दा रहेछन् जिउँदाहरुको मनमा सम्झना भएर ।’ तिम्रो मृत्यु पनि जागिरहने छ हामीमा । मुट्ठी भएर ! कसम भएर ! अठोट भएर ! प्रतिज्ञा भएर ! तिम्रो मृत्यु पनि त्यही कोटीको उच्च हुनेछ । अलविदा प्रिय मित्र अनुराग पाण्डे ! पुनः शोकसन्तप्त परिवारजनप्रति गहिरो समबेदना !

यो पनि कार दुर्घटनामा बाणगंगाका अनुराग पाण्डेको मृत्यु

प्रकाशित मिति : १४ पुस २०७८ बुधबार ००:००  १० : ५४ बजे