८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

शुशिल खत्रीको जन्मोत्सवः आर्धा दर्जन विद्यार्थीलाई छात्रवृत्ति, ३ जना सम्मानित




मायादेवी अनलाइन, चारनम्बर ।

आजभोलि अधिकांस व्यक्तिले होटल तथा रेष्टुरेण्टहरुमा जम्मा भएर भड्किलो तवरले केक काटी आफ्नो जन्म दिन मनाउने गर्दछन् । तर यो संस्कारलाई चिर्दै कपिलवस्तुको सिद्धार्थ क्याम्पसका स्ववियु सभापति शुशिल खत्रीले मानवीय र सामाजिक कार्य गरेर जन्मोत्सव मनाउनु पर्ने सन्देश दिनुभएको छ ।

उहाँले आफ्नो २९ औँ जन्मोत्सवको अवसर पारी क्याम्पसमा अध्ययनरत गरिव तथा जेहेन्दार आधादर्जन विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नुभयो भने क्याम्पसका अपाङगत भएका, क्याम्पस रक्षक र मालीलाई पनि सम्मान गरेर नयाँ सन्देश दिनुभएको हो । छात्रवृत्ति पाउनेमा अनिल कुमार यादव, प्रमिला गन्धर्व, संजिता खनाल, मधु कुमाल, सुस्मिता थारु र गिरिराज पाण्डे रहेका छन् । छात्रवृत्तिको रकम २ हजार पाँच सय थियो । यस्तै सम्मानित हुनेमा अपाङ्गता भएका विद्यार्थी १ जना, माली टेकेन्द्र क्षेत्री, क्याम्पस रक्षक (सेक्युरिटी गार्ड) दिलिप नायक क्षेत्री रहेका छन् । उनीहरुलाई एकएक थान जाडोमा न्यानो कपडा दिइएको थियो ।

अनेरास्ववियुका केन्द्रिय सदस्यसमेत रहेका सभापति खत्रीले नयाँ सन्देश दिन यस्तो कार्यक्रम गरेको बताउनु भयो । जन्मनु र मर्नुमा सार्थक जीवन नरहेको भन्दै उहाँले बाँचुञ्जेल केही न केही गर्नु पर्ने बताउनु भयो । विगतका बर्षमा पनि यस्तो कार्यक्रम गरेको भन्दै उहाँले छात्रवृत्ति रकम र कपडाको सही ठाउँमा सदुपयोग गर्न आग्रह गर्नुभएको छ ।

उहाँले जन्मदिनमा अनावश्यक खर्च नगरी वृद्धाश्रम, वालआश्रम, गरिव, भोका नाङ्गा आदीलाई साहारा दिन सबैलाई आग्रह गर्नुभएको छ । सभापति खत्रीले हरेक विद्यार्थीका समस्यालाई स्ववियुले सहजिकरण गर्दै आएकोले स्ववियुले गरेका उदाहरणीय कार्य छर्लङ्ग रहेको बताउनु भयो । कार्यक्रमकै अवसरमा खत्रीको सानो वृत्त चित्र प्रदर्शन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले खत्रीलाई जन्म दिनको शुभकामना दिंदै शैक्षिक विकासका लागि गरेको कार्यको प्रशंसा गर्नुभयो । सांसद घिमिरेले सिद्धार्थ क्याम्पसले क्यु.ए.ए. प्रमाण पत्र पाप्त गर्न, जिल्लाकै ठुलो क्याम्पसको रुपमा पहिचान बनाउन सक्नु लगायत क्याम्पसका हरेक क्षेत्रमा विकास हुनुमा खत्री नेतृत्व महत्वपूर्ण रहेको बताउनु भयो ।

विशिष्ठ अतिथि पुर्व क्याम्पस प्रमुख बालाराम ज्ञवालीले आफ्नो कार्यकालमा खत्रीले स्ववियु चुनाव जितेको स्मरण गर्दै हरेक विद्यार्थीको मनमा बस्न सफल भएको बताउनु भयो । उहाँले खत्रीले गरेको यो कार्यले अन्यले पनि प्रेरणा लिनुपर्ने बताउनु भयो । सोही अवसरमै खत्रीलाई प्रमुख अतिथि र विशिष्ट अतिथिले खादा लगाई सम्मान गरेका थिए । खत्रीको खास जन्मदिन पौष १७ गते हो । कार्यक्रममा कलाकार बिमल गैरे र बर्षा लम्सालले मनोरन्जनात्मक गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

अनेरास्ववियुका विद्यार्थी नेता बसन्त बेल्बासेको स्वागत र पत्रकार चन्द्रकान्त न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यत्रलममा क्याम्पस प्रमुख खेमराज शर्मा, सहायक क्यामपस प्रमुखहरु बेदुराम अर्याल, कमल पोख्रेल, गोविन्द खनाल, प्लस टु संयोजक राजकुमार अर्याल, अरु प्राध्यापक र विद्यार्थीको सहभागिता थियो ।

प्रकाशित मिति : १६ पुस २०७८ शुक्रबार ००:००  ६ : १० बजे