१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

औषधी ब्यवसायी संघ कपिलवस्तुको प्रथम साधारण सभा सम्पन्न



मायादेवी अनलाइन, चारनम्बर ।

नेपाल औषधी ब्यवसायी संघ कपिलवस्तुको प्रथम साधारण सभा तथा ब्यवसायी भेला सम्पन्न भएको छ । संघका अध्यक्ष धर्मराज भट्टराई र संघका निवर्तमान केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईको प्रमुख आतिथ्यमा बाणगंगा १ वैरियामा बुधबार साधारण सभा सम्पन्न भएको हो ।

सभामा बोल्नेहरुले औषधी ब्यवसाय जनताको स्वास्थ्यसंग प्रत्यक्ष सम्बन्ध राख्ने ब्यवसाय भएकाले संवेदनशिल बन्नु पर्ने बताए । प्रमुख अतिथि भट्टराई , विशिष्ट अतिथि लुम्बिनी प्रदेश अध्यक्ष ईश्वर ज्ञवाली, बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत भक्ति पाण्डे, पाल्पा अध्यक्ष रामलाल श्रेष्ठ, रुपन्देही अध्यक्ष सुरज भट्टराई लगायतले बोल्दै औषधी ब्यवसायलाई मर्यादित बनाउनु पर्ने बताउनु भयो ।

उहाँहरुले औषधी ब्यवसायमा एकरुपता कायम गरेर सबैलाई समेट्ने गरी काम गर्नु पर्ने बताए । कार्यक्रममा अध्यक्ष धर्म भट्टराईले बार्षिक नीति र कार्यक्रम प्रस्तुत गर्दै अब आफ्नै भवन बनाएर काम गरिने बताउनु भयो । महासचिव मनिराम पाण्डले प्रगति र कोषाध्यक्ष मोतिराज घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा संस्थालाई सहयोग गर्ने दर्जन बढी औषधी ब्यवसायीलाई सम्मान गरिएको थियो ।

कार्यक्रम संयोजक बेदुराम पोख्रेलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा सहभागि अन्य ब्यवसायीले अब एक भएर सार्थक काम गर्नु पर्ने बताएका थिए । यसैबीच चारनम्बरमा संघले सचिवालयको उद्घाटन पनि गरेको छ । अब यही सचिवालयबाट संघका काम हुने अध्यक्ष भट्टराईले बताउनु भयो ।

प्रकाशित मिति : ३० पुस २०७८ शुक्रबार ००:००  १ : १४ बजे