१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

बेलायतमा कोरोनाबाट एक लाख ६० हजार बढीको मृत्यु



बेलायत ।

बेलायतमा महामारी सुरु भएयता कोरोनाका संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ६० हजार नाघेको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याँक अनुसार हालसम्म एक लाख ६० हजार ३८ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घन्टामा थप १९९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । तर, राष्ट्रिय तथ्यांकको कार्यालयका अनुसार मृतक संख्या अझ बढी छ ।

कोरोनाका कारण मृत्यु दर्ता गरिएको प्रमाणपत्रको आधारमा भने एक लाख ८१ हजार ४२४ रहेको सरकारी तथ्यांकमा उल्लेख छ । बेलायतमा कोरोना संक्रमण पुष्टि भएको २८ दिनभित्र मृत्यु भएमा कोरना संक्रमणका मृतकको रुपमा घोषणा गरिन्छ ।

यसैगरी बितेको २४ घण्टाभित्र ५४ हजार २१८ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या एक करोड ८४ लाख ४७ हजार ७०६ पुगेको छ । पछिल्लो समय इंग्ल्याण्ड र वेल्समा संक्रमण दरमा केहि गिरावट आएको अधिकारीहरुले बताएका छन् । तर, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डमा अनिश्चित रहेको राष्ट्रिय तथ्यांकको कार्यालयले जनाएको छ ।

यसैगरी अस्पताल भर्ना हुने कोरोना संक्रमितको संख्या पनि घट्दै गएको छ । पछिल्लो २४ घन्टामा एक हजार ९६ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका थिए । हाल १२ हजार भन्दा बढीको अस्पतालमा उपचार भैरहेको छ भने ३५४ जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८ बिहिबार ००:००  ७ : १२ बजे