मायादेवी अनलाइन, चन्द्रौटा ।
नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुले जिल्लाको पश्चिमी क्षेत्रमा रहेको विजयनगर गाउँपालिका कमिटी गठन गरेको छ ।
शनिबार भएको प्रथम पालिका भेलाले पूर्णवासी तेली अध्यक्ष रहेको ३७ सदस्यिय पालिका कमिटी गठन गरेको हो । पालिका कमिटीको उपाध्यक्षमा धिरेन्द्र सिंह चौधरी, सचिवमा मोहम्मद इरफान खान, उप-सचिवमा रितु सुनार र अन्य सदस्यहरुमा रहनुभएको छ ।
भेलालाई सम्बोधन गर्दै समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर खत्रीले समाजवादी अभियानमा जोडिनेक्रम निरन्तर बढेको भन्दै यसले थप उत्साह थपेको बताउनुभयो । जिल्लामा एकीकृत समाजवादीको प्रभाव बढीरहेको भन्दै विजयनगरबाट पनि यसको सुरुवात भएको बताउनुभयो । अब आउने स्थानीय तहको चुनावमा लाग्न कार्यकर्तालाई निर्देशन दिदै उहाँले पालिकामा चुनाव जित्ने गरि उम्मेद्वार तोकिने जनाउनुभयो ।
पार्टी केन्द्रीय सदस्य तथा जिल्ला सह-इन्चार्ज मीना परियारले केपी ओलीको व्यक्तिवादी र स्वच्छाचारी प्रवृत्ती प्रति विद्रोह गरि समाजवादी पार्टी गठन भएको भन्दै यसले नेपालका उत्पीडित वर्गको उत्थान गर्ने बताउनुभयो । पार्टी अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा थुप्रै जनपक्षीय काम भएका चर्चा गर्दै महिला, दलित, मुस्लिमका साथै पछि परेका समुदाय समाजवादी पार्टीमै गोलबन्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
पार्टी जिल्ला अध्यक्ष लंका बहादुर हमालले समग्र पालिकाको विकासमा एकीकृत समाजवादीले अब नेतृत्वदायी भूमिका खेल्ने बताउनुभयो । हिजोका दिनमा पनि यही क्षेत्रमा कम्युनिष्ट पार्टी बनाउन थुप्रै मेहनत गरेको स्मरण गर्दैै अब पनि उस्तै उत्साहको साथ जनताको घरदैलोमा जाने बताउनुभयो ।
पार्टीका जिल्ला सदस्य दिपक अनुरागीको सञ्चालनमा भएको भेलामा पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य डा.जयरुल हसन खा, पार्टी जिल्ला उपाध्यक्ष नेत्रलाल खनाल, सचिव ओमप्रकाश कुर्मी, जिल्ला सदस्य सुमित्रा अधिकारी, अनिशा सिग्देल लगायतले बोल्नुभएको थियो ।
प्रतिक्रिया