१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रुपन्देहीको गैडहवामा बाल विवाह अन्त्य गर्न बालिका बिमा



भैरहवा ।

विवाहका लागि बालिकाको उमेर २० वर्ष हुनुपर्ने कानूनी व्यवस्था भए पनि पश्चिम तराईका जिल्लामा बालविवाहको समस्या भयावह छ । दाईजो, उपयुक्त वर, पारिवारिक कलह आदिका कारण रुपन्देहीमा पनि २० वर्ष उमेर पुग्नु अगावै विवाह गरिदिने गरिएको छ । यस्तै समस्या मध्येको एक हो रुपन्देहीको गैडहवा गाउँपालिका ।

बालविवाहको कारण बालिकाहरुको अध्ययन प्रभावित हुनुको साथै अपरिपक्व उमेरमै उनिहरुको विवाह हुने गरेको कारण गैडहवा गाउँपालिकाले यसको समाधानको लागि पहल गरेको छ । गाउँपालिकाले बालविवाह बारे जनचेतना फैलाउने काम मात्र गरेन भविष्यमा यो समस्या आउन नदिन जन्मिने बित्तिकै बालिकाहरुको बीमा गरिदिने गरेको छ । गाउँपालिकाले कार्यविधि बनाएर यसको ब्यवस्थापन गर्ने गरेको छ ।

कार्यविधि अनुसार, बालिका जन्मेको ३५ दिन वा सो आर्थिक वर्षभित्र जन्मदर्ता गरी अभिभावकले वडा कार्यालयमा बीमाका लागि निवेदन दिनुपर्छ । वडा कार्यालयले सिफारिश गरेपछि गाउँपालिकाले तोकेको संस्थामा खाता खोलिदिन्छ । बालिका २० वर्ष पुगेपछि साँवा(ब्याजसहित झण्डै ३ लाख ८० हजार रुपैया निकाल्न मिल्छ । बालिकाको २० वर्षअघि बिहे भयो भने बीमा रकम पाइँदैन । प्रारम्भिक कक्षा पढ्न नपठाए पनि त्यस्ताको बीमा रोकिने प्रावधान रहेको छ । “बेटी बचाउ, बेटी पढाउ” अभियान अन्र्तगत स्थानिय तहको निर्वाचन जिते लगत्तै बालिका बिमाको सुरुवात गरिएको गैंडहवा गाउँपालिका अध्यक्ष बच्चुलाल केवटले जानकारी दिए । उनले बालविवाह अन्त्य गर्नु नै यस कार्यक्रमको मूख्य उद्देश्य रहेको बताए ।

कार्यक्रम अन्तरगत बालिकाका अभिभावक कार्यविधिले तोके बमोजिमको कागजात सहित गाउँपालिकामा सम्पर्क गर्नु पर्ने र यसरी आएको निवेदनमा गाउँपालिकाले २० हजार र सम्बन्धित अभिभावकले ५ हजार ५ सय रुपैया जम्मा गर्नु पर्ने प्रावधान रहेको छ । अति विपन्न नागरिकको हकमा भने अभिभावकले जम्मा गर्नु पर्ने रकम गाउँपालिकाले नै जोहो गर्ने गरेको छ । कार्यक्रमले बालविवाह मात्र नभई मातृ(शिशु मृत्युदर, भ्रुण हत्या लगायत समेत अन्त्य गर्ने गाउँपालिकाको भनाई छ ।

बालिका बीमाको लागी गाउँपालिकाले प्रत्येक बर्ष बजेट बिनियोजन गर्ने गरेको छ । गैडहवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र चौहानले २०७५ साउन १ गते देखी यो कार्यक्रम लागु भएको जनाए । कार्यक्रम सुरु भएको आर्थिक बर्ष २०७५र०७६ मा २१ जना, आर्थिक बर्ष २०७६र०७७ मा ६७ जना र २०७७र०७८ मा ७५ जना गरि १ सय ६३ जना बालिकाहरुको बिमा गरि सकिएको छ । यस्तै चालु आर्थिक बर्षको पहिला चौमासिकमा ६८ जना बालिकाहरुको बिमाको लागी लेखा शाखामा फाईल पठाएको उनले जनाए । गाउँपालिकाको यो प्रयासको स्थानियहरुले पनि साथ दिएका छन् । गाउँपालिकाले नै बीमा बापत २० हजार दिने भएपछि अभिभावकहरू पनि खुशी देखिएका छन । गैडहवा–३ का स्थानिय अजय कुमार सहानीले छोरीको विवाहको लागी गाउँपालिकाले पहिलेनै ब्यवस्था गरि दिएकोमा खुशी ब्यक्त गरे ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८ शनिबार ००:००  २ : ०६ बजे