५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

१२ औँ कपिलवस्तु महोत्सवः होटल व्यवसायीले दिँदैछन यसरी नौलोपन



मायादेवी अनलाइन, चारनम्बर ।

चैत्र ३ गतेदेखि बुद्ध रंगशाला बाणगंगामा हुन लागेको १२ औँ कपिलवस्तु महोत्सवमा होटलमा हुने लडाई बन्द हुने भएको छ । बाणगंगा होटल तथा पर्यटन ब्यवसायी संघले एकमुष्ट रुपमा होटल तथा रेष्टुरेन्ट संचालन गर्ने भएपछि होटल र रेष्टुरेन्टमा हुने अस्वस्थ लडाई बन्द हुने भएको हो । अब दर्शकलाई पनि सहजता हुने भएको छ ।

आयोजक कपिलवस्तु उद्योग बाणिज्य संघसंग ब्यवसायीले सम्झ्यौतामा हस्ताक्षर गरिसकेको संयोजक रविन्द्र पौडेलले बताउनु भयो । ‘यस अघिका महोत्सवमा बाहिरबाट ब्यापारी आएर होटल रेष्टुरेन्ट चलाउँथे । ग्राकको स्वास्थ्यलाई ध्यान दिइदैनथ्यो । सडेगलेका खानेकुरा खुवाए भनेर दर्शकले पनि भन्थे संयोजक पौडेलले भन्नुभयो ‘यसपटक त्यो गुनासो आउने छैन ।

किनकि यहाँका ब्राण्डेड र नाम चलेका होटल ब्यवसायीले स्टल चलाउँदै छौँ । त्यहाँ गडबडी भएमा यहाँको होटलको ब्राण्ड बिग्रने छ ।’
स्टलमा हुक्का बार, चिकन स्टेसन न्यू, आइसक्रिमको छुट्टाछुट्टै व्यवस्था हुने छ भने मम, चाउमिन लगायत खाजाका परिकार पनि नयाँ ढंगले सजाइने बताइएको छ । संघले यसको ब्यवस्थापनको लागि समिति र उपसमिति बनाएर काम गरिरहेको छ ।

ग्राहकले सोझै किनेर खान पाउने छैनन् काउण्टरमा गएर टोकन लिइसकेपछि मात्र आफूले चाहेको खानेकुरा खान पाउने छन् । यसपटक मेरो पसलमा आऊ, मेरो पसलमा भन्दै दर्शकलाई तानातान गर्ने परिपाटी बन्द भएर दर्शकलाई सहज हुने महोत्सव सहसंयोजक तथा मायादेवी रिसोर्टका संचालक वीरेन्द्र श्रेष्ठले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । स्टलमा होटलको नाम नभएर परिकारको नाम राखिने जनाइएको छ । साथै नेपाली मौलिक परिकारलाई पनि प्राथमिकता दिइने व्यवसायीले जनाएका छन् ।

यो अभ्यास मुलककै लागि नौलो भएको आयोजकले बताए । उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले यसबाट ब्यवसायीलाई मात्र नभएर आफूहरुलाई पनि सजिलो भएको बताउनु भयो । नगरमै अर्थतन्त्र सुरक्षित हुनु पनि यसको अर्को फाइदा भएको उहाँको भनाई छ । अहिले बुद्ध रंगशालामा महोत्सवको धमाधम तयारी अघि बढेको निर्देशक छवि रेश्मीले बताउनु भयो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८ आइतबार ००:००  ७ : ५७ बजे