५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

१२ औं कपिलवस्तु महोत्सवको तयारी अन्तिम चरणमा, उद्घाटनका लागि गृहमन्त्री खाँण आउने



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बुद्धरंगशाला वाणगंगामा आयोजना गरिएको १२ औं कपिलवस्तु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

कपिलवस्तु उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलन मार्फत आयोजकले महोत्सव तयारीबारे मंगलबार जानकारी दिएको हो ।

महोत्सवका निर्देशक तथा कपिलवस्तु उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष छवि रेश्मी मगरले महोत्सवबारे जानकारी दिदैं तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।

गृहमन्त्री बालकृष्ण खाँणले चैत्र ३ गते दिउँसो २ बजे महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको भन्दै निर्देशक रेश्मीले स्टल निर्माण, मञ्च व्यवस्थापन, गेट निर्माण लगायतको काम अन्तिम चरण पुगेको बताउनुभयो ।

कोभिड १९ को कारण महोत्सव तोकिएको मितिमा सञ्चालन गर्न नसकेको स्विकार गर्दै उहाँले विषम परिस्थितिका बीच १२ औं कपिलवस्तु महोत्सव सञ्चालन गर्न थालिएको बताउनुभयो ।

संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक डोलकराम घिमिरेले कपिलवस्तुको पहिचानसंग जोडिएको महोत्सवलाई सबै मिलेर सफल पार्नुपर्नेमा जोड दिनुभयो । कृषि र पर्यटनलाई जोड दिदैं स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्धेश्य स्वरुप १२ औं कपिलवस्तु महोत्सव सञ्चालन गर्न थालिएको भन्दै यसलाई सफल पार्ने दायित्व सबैको भएको बताउनुभयो । पत्रकार सम्मेलनमा पत्रकारहरुले उठाएका जिज्ञासाको उहाँले जवाफ दिनुभएको थियो ।

संघका महासचिव मनोज पौडेलको सञ्चालनमा भएको पत्रकार सम्मेलनमा संघका पूर्व अध्यक्ष विष्णु न्यौपाने, उमानाथ पौडेल, नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष किरणमान ब्रजाचार्य, पूर्व अध्यक्ष डिलाराम भुसाल, पत्रकार पार्वती पाण्डे लगायतले बोल्नुभएको थियो ।

चैत्र ३ गते देखि १३ गतेसम्म चल्ने यसपालिको महोत्सवको आकर्षणको केन्द्र प्रस्थान गेटमा राखिएको ब्रुज खालिफा रहेको छ । युएईको चर्चित बु्रज खालिफालाई महोत्सवको गेटमा राखिएको छ । यस्तै महोत्सव स्थलभित्र बुद्धका दुई ठूला मूर्ती राखिने आयोजकले जनाएको छ ।

आकर्षक मञ्च, कपिलवस्तु डान्स आइडल, चर्चित गायक, गायिकाको प्रस्तुती रहने महोत्सव साँझ साढे ८ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७८ मंगलबार ००:००  २ : ३४ बजे