५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कपिलवस्तु महोत्सवमा दर्शकलाई निशुल्क शुद्ध पिउने पानी र प्राथमिक उपचार




मायादेवी अनलाइन, चारनम्बर ।

भोलिदेखि सुरु भई चैत्र १३ गतेसम्म बाणगंगाको बुद्ध रंगशालामा लाग्ने १२ औँ कपिलवस्तु महोत्सव, कृषि, पर्यटन एवम् औद्योगिक प्रदर्शनीमा आउने दर्शकहरुको लागि निशुल्क शुद्ध पिउने पानी र प्राथमिक उपचारको ब्यवस्था हुने भएको छ । गर्मी मौसममा महोत्सव हुन लागेकाले दर्शकको स्वास्थ्य सुविधालाई मध्यनजर गर्दै निशुल्क शुद्ध खानेपानी र प्राथमिक उपचारको ब्यवस्था गरिन लागेको हो ।

महोत्सवका संयोजक एवम् आयोजक कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले शुद्ध खानेपानीको लागि गजेहडा बाणगंगा भुपुसैनिक र बाणगंगा खानेपानी संस्थानसंग कुरा भइसकेको जानकारी दिनुभयो ।

यस क्षेत्रमा शुद्ध खानेपानी प्रदायक संस्थाको रुपमा ती खानेपानी संस्था छन् । दर्शक भीँड हुने र आवतजावत गर्ने ठाउँमा खानेपानीका ट्याङ्की रहने छन् । त्यहाँ दर्शकले आफ्नो सुविधा अनुकुल खानेपानी भरेर पिउन सक्ने छन् ।

साथै आयोजकका स्वयम् सेवक पनि सेवाको लागि फिल्डमा खटिने उहाँले बताउनु भयो । धेरै गर्मी हुने भएकाले यस पटक निशुल्क रुपमा शुद्ध खानेपानी वितरण गर्न लागिएको हो । उहाँले भन्नुभयो ‘हुनेखानेले त जतिपटक पनि बोतलको पानी किनेर खान सक्नुहोला तर यहाँ कतिपय दर्शक पिउने पानी किन्न नसक्ने पनि हुनुहुन्छ । दिनभरको बसाईमा समस्या नहोओस् भनेर सबैलाई न्याय हुने गरी यो सुविधा दिन लागेका छौँ ।’

साथै महोत्सवमा निशुल्क प्राथमिक उपचारको पनि ब्यवस्था गरिएको छ । महोत्सव अवलोकन गर्न आएका दर्शकलाई हुने सामान्य स्वास्थ्य समस्या समाधानको लागि कपिलवस्तु सामुदायिक अस्पताल र अरु नीजि अस्पतालसंग पनि कुरा भइसकेको महोत्सव निर्देशक एवम् संघका वरिष्ठ उपाध्यक्ष छविलाल रेश्मीले जानकारी दिनुभयो ।

महोत्सव हेर्न आउँदा कुनै समस्या भएमा सचिवालयमा सम्पर्क गर्न महासचिव मनोज पौडेलले सबैलाई आग्रह गर्नु भयो । महोत्सवको भोलि दिउसो साढे २ बजे गृहमन्त्री बालकृष्ण खाँणले उद्घाटन गर्नुहुने छ ।

प्रकाशित मिति : २ चैत्र २०७८ बुधबार ००:००  ११ : १३ बजे