२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

एमसीसीबारे गृहमन्त्रीको जिकिरः ट्रान्मिसन तारबाट विजुली आउँछ सेना होइन



चन्द्रकान्त न्यौपाने, चारनम्बर । नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले संसदबाट अनुमोदन भएको मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का कारण नेपालमा अमेरिकी सेना नआउने दाबी गर्नुभएको छ । कपिलवस्तु उद्योग बाणिज्य संघले आयोजना गरेको १२ औँ कपिलवस्तु महोत्सव कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीलाई सम्बोधन गर्दै एमसीसीका कारण नेपाली भूमिमा अमेरिकी सेना आउनै नसक्ने बताउनु भयो ।

नेपालकै विकासको लागि एमसीसी अनुमोदन भएको प्रष्ट पार्दै गृहमन्त्री खाँणले भन्नुभयो ‘एमसीसी आयोजनाबाट यहाँ विजुली विस्तार हुने हो । ट्रान्समिसन लाइन विस्तार हुने हो । भारत लगायतका देशलाई विजुली बेचेर बल्ल मुलुकको आर्थिक विकास हुन्छ ।’

अधिकांस समय एमसीसी अनुमोदनको प्रष्टिकरणमै खर्चनु भएका गृहमन्त्री खाँणले एमसीसीपछि उर्जा उत्पादन भइ नेपालको विकास हुने बताउनु भयो । उर्जा र पर्यटनको विकासविना नेपाल कहिल्यै विकास हुन नसक्ने बताउँदै उहाँले एमसीसी राष्ट्रबादको लागि भएको दावी गर्नुभयो ।

एमसीसी अनुदान पाउन नेपालले बिभिन्न परीक्षा उत्तीर्ण गरेको पनि उहाँको प्रष्टिकरण छ ‘एमसीसी जुन पायो त्यही देशले पाउँदैनन् । नेपालमा प्रजातन्त्र छ । लोकतन्त्र छ । समयसमयमा निर्वाचनबाट प्रतिनिधि चुनिन्छन् । एकदलीय तन्त्र छैन । त्यसैकारण नेपालले एमसीसी परियोजना पायो । यी मुल्य र मान्यता नभएका देशमा अमेरिकाले एमसीसी परियोजना लग्दैन । शंका लागेका कुरामा हामीले १२ बुँदे ब्याख्यात्मक घोषणा पत्र लेखेका छौँ । ढुक्क हुनुहोस् एमसीसीले विकास गर्छ । सेना ल्याउँदैन ।‘

एमसीसीको सबालमा प्रधानमन्त्री शेरबहादुर देउवाले कुशल नेतृत्व देखाएको बताउनु भयो । गिरिजाप्रसाद कोइरालाले शशष्त्र द्धन्द्ध कालमा माओवादीलाई शान्ति धारमा ल्याएर कुशल नेतृत्व प्रदान गरेजस्तै पार्टी सभापति देउवाले पनि अहिले गिरिजालेजस्तै कुशल नेतृत्व प्रदान गरिरहेको बताउनु भयो । एमसीसी मुलुकको विकासको लागि भएकाले यस्ता मञ्चमा बोल्दा उद्योगी, ब्यवसायीले कम्तिमा पनि २ मिनेट यसको बारेमा बोल्नु पर्ने र आवश्यक सुझाव सरकारलाई दिनुपर्ने बताउनु भयो ।

गृहमन्त्री खाँणले भाषणको क्रममा अब सरकारले विजुलीको मुल्य घटाउन लागेको बताउनु भयो । रुस र युक्रेनको लडाईका कारण नेपालमा महङ्गी बढेको भन्दै उर्जा संकट कम गर्न विजुली बाल्नु पर्ने बताउँदै यसको लागि सरकारले चाँडै शुल्क घटाउने खाँणले बताउनु भयो ।

ब्यापारी ब्यवसायीको हक अधिकार र विकासको लागि अहिलेको सरकार प्रतिवद्ध रहेको बताउँदै कुनै पनि सरकारी कर्मचारीले ब्यापारी बयवसायीलाई असहयोग गर्न नहुने धारणा गृहमन्त्री खाँणको छ । कपिलवस्तुको विकासबारे खासै नबोल्नु भएका खाँणले लुम्बिनी प्रदेशको विकास भए मुलुकको विकास हुने धारणा राख्नुभयो । गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलको सुचारुपछि यहाँको उद्योग, पर्यटन र कृषिको विकास हुने उहाँको भनाई छ । उहाँले बुद्धस्थल तिलौराकोटसंग जोडिएका परियोजनाहरुको संचालन र विकास चाँडै गर्ने बताउनु भयो । नागरिकसंग भेटघाट गर्दै गृहमन्त्री खाँण फर्कनु भएको थियो ।

महोत्सवको उद्घाटन कार्यक्रम संघका अध्यक्ष एवम् संयोजक डोलकराम घिमिरेको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष तथा निर्देशक छवि रेश्मीको स्वागत र महासचिव मनोज पौडेलको संचालनमा सम्पन्न भएको थियो । महोत्सव बुद्ध रंगशालामा चैत्र १३ गतेसम्म लाग्ने छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८ बिहिबार ००:००  ६ : ०९ बजे