५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

परिवार नियोजनको भ्रम चिर्दै खुसहाल स्वास्थ्य कार्यक्रम



कपिलवस्तु ।

सवै समुदायको सकारात्मक सोच र व्यवहारले मात्र समाज रुपान्तरण हुने कपिलवस्तुको तौलिहवामा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । मुस्लिम धार्मिक अगुवा र सरोकारवालाबीच मंगलबार खुसहाल स्वास्थ्य परिवार सम्बन्धी आयोजित अभिमुखीकरणमा सो कुरा बताएका हुन् । मुस्लिम समुदायको बाहुल्यता भएको कपिलवस्तु जिल्लामा केही वर्षदेखि खुसहाल स्वास्थ्य परिवार कार्यक्रम संचालन भएपछि मुस्लिम समुदायमा सकारात्मक परिवर्तनहरु देखिएको धार्मिक गुरुहरुले बताएका छन् ।

पहिलो कुरा हामी सवैको सोचाईमा परिवर्तन ल्याउनुपर्दछ, नियाज अहमद मुसलमानले भन्नुभयो, फेमिली प्लानिङ्ग भन्दा मुस्लिम समुदायमा नकारात्मक सोच विकास हुन्छ । परिवार नियोजन भनेको परिवार योजना हो, नियोजन होइन उहाँले भन्नुभयो, वास्तविक अर्थ मुस्लिम समुदायलाई बुझाउन जरुरी छ । परिवार योजना भनेको जन्मान्तर (बच्चा कहिले जन्माउने) गर्भवस्था र स्वास्थ्य जाँच, बच्चा र आमाको स्वास्थ्य सुरक्षा, सरकारी सेवा सुविधा, किशोर किशोरीमा शिक्षा दिएर मुस्लिम समुदायमा परिवर्तन ल्याउन सकिन्छ ।

परिवार नियोजन धर्ममा छैन, परिवार योजना धर्ममा छ, मौलाना नियाजले भन्नुभयो, यसको गलत प्रचार प्रसार भएको छ । परिवार योजनाको बारेमा मुस्लिम समुदायलाई बुझाउनुपर्दछ । कतिपय मुस्लिम समुदाय परिवार नियोजनको भ्रम चिर्न जरुरी छ । पाठ्यक्रममै परिवर्तन गरेर परिवार नियोजन होइनकी परिवार योजना भनेर सिकाउनुपर्दछ । ४.५ वर्षदेखि हामी लडिरहेका छौं, इस्लाम धर्ममा परिवार योजनाको बारेमा धेरै कुरा बोलेको छ, मौलाना नियाजले भन्नुभयो । राम्रा अभ्यासहरु धर्ममा उल्लेख छ ।

कार्यक्रममा डा. अब्दुल गनी अल्कुफीले धार्मिक शिक्षाले मुस्लिम समुदायका महिलालाई धेरै माथी स्थान दिएको बताउनुभयो । धार्मिक मुल्यमान्यता कुनै समुदायको विरुद्धमा छैन, सवैको हित र रक्षा गर्दछ । कार्यक्रममा लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहुद खाँ नेपालीले मुस्लिम समुदायका बालबालिकाको स्वास्थ्य र शिक्षामा बढि ध्यान दिनुपर्ने बताउनुभयो । मशहुद नेपालीले मुस्लिम समुदायलाई तालिम, शिक्षा आवश्यक भएको बताउनुभयो । उहाँले मदरसा शिक्षाको मुल प्रवाहीकरणमा आफु धेरै वर्षदेखि लडिरहेको बताउदै सरकारी स्कुल सरह मदरसा स्कुलले सहयोग पाउन थालेको जानकारी दिनुभयो ।

कार्यक्रममा मेरि स्टोभस तौलिहवामा प्रमुख मनिराम पाण्डेले खुसहाल स्वास्थ्य कार्यक्रमबाट मुस्मिल समुदायमा धेरै परिवर्तनहरु आउन थालेको छ । उहाँले खुसहाल स्वास्थ्य परिवार कार्यक्रमबाट व्यवस्थित परिवार भई स्वास्थ्य र विकासको आधार तयार हुने भएकाले मुस्लिम समुदायमा चेतना दिन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका उपाध्यक्ष तिलोचन घिमिरे, नीति सल्लाहकार पोमनारायण पौडेलले कपिलवस्तु लगाएत लुम्बिनी प्रदेशमा मुस्लिम समुदायमा स्वास्थ्य प्रति सचेतना ल्याउन खुसहाल स्वास्थ्य कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । त्यस्तै कार्यक्रममा युएनएफपीए कपिलवस्तुका अधिकृत चित्र महतोले खुसहाल स्वास्थ्य परिवार कार्यक्रमलाई सघन रुपमा संचालन गरेर खुशी परिवार बनाउने तर्फ मुस्लिम समुदायका अगुवा तथा सरोकारवालासंग सहकार्य गरेर कार्यक्रम अघि बढिरहेको बताउनुभयो ।

कार्यक्रममा मुस्लिम जागरुक मंचका अध्यक्ष मेराज खाँनले खुसहाल स्वास्थ्य परिवार कार्यक्रममा महत्वपूर्ण छलफलले समुदायमा परिवर्तन आाउने बताउनुभयो । उहाँले जीवनमा खुशी ल्याउने योजना खुसहाल स्वास्थ्य कार्यक्रम मार्फत मुस्लिम धार्मिक अगुवा तथा सरोकारवालाको प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभयो । मुस्लिम समुदायमा एक हजार सुनौला दिन, पोषणयुक्त खाना, जन्मान्तर, आर्थिक, सामाजिक र मानसिक विकास जस्ता विषयमा सचेतना आवश्यक भएको बताइएको छ । मिडिया, सरकारी निकाय, सामाजिक संघसंस्थाहरुले कुनैपनि कार्यक्रम समुदायमा संचालन गर्दा सम्वन्धित समुदायको मूल्यमान्यता र सहभागीतालाई ध्यान दिनुपर्ने समेत सुझाव दिएका थिए ।

प्रकाशित मिति : ९ चैत्र २०७८ बुधबार ००:००  ४ : ३० बजे