५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कपिलवस्तु अस्पताल बन्यो लुम्बिनी प्रदेशकै उत्कृष्ट



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्यांकन फ्लोअप तथा समिक्षामा लुम्बिनी प्रदेश मै उत्कृष्ट बनेको छ । सो अस्पताल कूल ८७ अंक प्राप्त गरि प्रदेश मै पहिलो भएको हो ।

लुम्बिनी प्रदेश अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मूल्यांकन फ्लोअप तथा समिक्षा कार्यक्रममा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय स्वास्थ्य निर्देशनालयका प्रतिनिधि तथा बर्दिया अस्पतालका मेसु सुवाश पाण्डेयले सो कुरा सार्वजनिक गरेका हुन् ।

अस्पतालमा कन्सलटेन्सी डाक्टरको उपलब्धता, अक्सिजन प्लान्ट, डिजिटल नागरिक वडा पत्र सेवाको सन्तुष्टि लगायतका क्षेत्रमा राम्रो भएको उनको भनाई छ । सोही अवधिमा बर्दिया अस्पतालले भने ८६ अंकसहित दोश्रो भएको उनले बताए ।

अस्पताल प्रदेश मै उत्कृष्ठ भएकोमा बधाई दिँदै अस्पतालमा भएको राम्रा काम र सेवाहरुको प्रचार गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए ।

अस्पतालमा आईसियु, अक्सिजन प्लान्ट जडान र पिसिआर मेशिनसमेत हुनु निकै सकारात्मक कुरो भएको प्रजिअ पाण्डेले बताए ।

कार्यक्रममा कपिलवस्तु अस्पतालका मेसु किशोर बञ्जाडेले सबैको अथक प्रयास पछि अस्पताल प्रदेश मै पहिलो बन्न सफल भएको भन्दै खुशी ब्यक्त गरे । अस्पतालमा रहेका सेवा सुविधा र प्रगति विवरण सार्वजनिक गर्दै बजेट अभावले कर्मचारी ब्यवस्थापनमा भने समस्या आएको उनले जनाए ।

सो अवसरमा राम्रो काम गरेको भन्दै अस्पतालकी अनमी सुकमाया थापालाई नगद १० हजार र प्रशंसा पत्रले सम्मानित गरिएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७८ बिहिबार ००:००  २ : १३ बजे