५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

१२ औं कपिलवस्तु महोत्सवको नवौँ दिन आज पशुपति शर्मा आउदैँ



जितपुर ।

१२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीमा दर्शकको दिनप्रतिदिन उत्साह बढ्दै गएको छ । महोत्सवको आठौं दिन हिजो १५ हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सवमा विहिबार १५ हजार दर्शकले अवलोकन गरेका कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले जानकारी दिनुभयो । महासचिव पौडेलका अनुसार करिब १८ लाख बराबरको आर्थिक कारोबार भएको छ । महोत्सवमा यो गर्मीका बाबजुत थप उत्साह छाउँदै गएको महोत्सवका संयोजक समेत रहेका कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले बताउनुभयो ।

बिहिबार चर्चित लोक तथा दोहोरी गायक बद्रि पंगेनी, चर्चित आधुनिक गायिका रचना रिमाल, लोक तथा दोहोरी गायिका रिता थापा, रुविना अधिकारीसहित स्थानीय कलाकारले बेजोड प्रस्तुति राखेको कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेस्मी मगरले बताउनुभयो । निर्देशक रेस्मीका अनुसार शुक्रबार पशुपति शर्मा, प्रिति आलेसहित स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने छ । यस्तै बिहिबार १० औं कपिलवस्तु डान्स आईडलतर्फ ८ जना प्रतियोगीहरुले नृत्य प्रस्तुत गरेका छन् ।

जसमध्ये एक जना प्रतियोगी बाहिरिएकी डान्स आइडल संयोजक बिरेन्द्र खाँणले जानकारी दिनुभयो । संयोजक खाँणका अनुसार विन्दु कुमाल प्रतियोगिताबाट बाहिरिएकी हुन् । प्रतियोगिताबाट बाहिहिनेलाई आयोजकले सम्मान स्वरुप प्रसंशा पत्र प्रदान गर्दै आएको छ । प्रतियोगी भोटिङ र जजहरुको मूल्याङ्कनका आधारमा प्रतियोगिताबाट बाहिरिने छन् ।

‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव चैत्र ३ गतेदेखि सुरु भएको हो । महोत्सव चैत्र १३ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा चल्ने छ । महोत्सवमा करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गर्दै आएको छ भने ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८ शुक्रबार ००:००  ७ : ४३ बजे