१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आज के-के गर्दैछन् चिनियाँ विदेशमन्त्री ?



काठमाडौँ ।

परराष्ट्र मन्त्रालयका अनुसार शनिबार बिहान पनि विदेशमन्त्री वाङ यी घुमफिरमा नै व्यस्त रहनेछन् । तीन बजेदेखि मात्र उनको औपचारिक कार्यक्रम सुरु हुनेछ । साढे ३ बजेदेखि पौने ४ बजेसम्म परराष्ट्रमन्त्री डा। नारायण खड्का र विदेशमन्त्री वाङबीच विशेष भेटवार्ता हुनेछ । विदेशमन्त्री वाङसहित २० सदस्यीय चिनियाँ प्रतिनिधिमण्डलसँग परराष्ट्रमन्त्री खड्कासहितको १६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको छुट्टै बैठक बस्नेछ । सोही क्रममा विभिन्न सम्झौतामा हस्ताक्षर हुनेछ ।

नेपालको त्रिदिवसीय भ्रमणमा नेपाल आइपुगेका चीनको राज्यपरिषद् सदस्य एवं विदेश मन्त्री वाङ यी शनिबार औपचारिक कार्यक्रममा व्यस्त रहने कार्यसूची रहेको छ । शुक्रबार नेपाल आएर वाङ यी विमानस्थलबाट सोझै बत्तिसपुतलीस्थित होटल द्वारिका पुगेका थिए । शुक्रबार उनी कुनै औपचारिक कार्यक्रममा सहभागी भएनन् ।

परराष्ट्रमन्त्री डा नारायण खड्का नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र, अर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवलगायत सहभागी हुनेछन्। विदेशमन्त्री वाङ नेतृत्वको प्रमण्डलमा नेपालका लागि चीनका राजदूत हउ यान्छी, चीनको विदेश मन्त्रालयका सहसचिव वु जिङवाओ, वाणिज्य मन्त्रालयका सहसचिव शेङ कुपिङ, विदेश मन्त्रालयको एशियाली मामिला विभागका महानिर्देशक लिउ जेनसङ, नायब शिष्टाचार महानिर्देशक सोङ जिया र विदेशमन्त्री याङका सचिव देङ झेइ रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विदेशमन्त्री वाङ यीले शनिबार साँझ नै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । जसअनुसार उनी पौने ६ बजेदेखि सवा ६ बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटमा व्यस्त रहनेछन् ।

सोही क्रममा सवा ६ बजेदेखि साढे ६ बजेसम्म प्रधानमन्त्री देउवासँगै विदेशमन्त्री यीले काठमाडौँबाट भर्चुअल रूपमा हुने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा सहभागिता जनाउनेछन् । त्यसपछि परराष्ट्रमन्त्री खड्काले शनिबार साँझ विदेशमन्त्री यीका लागि आयोजना गरेको रात्रिभोजमा सरिक हुनेछन् ।

प्रकाशित मिति : १२ चैत्र २०७८ शनिबार ००:००  ७ : ४५ बजे