१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

राप्रपा, तमलोपा हुँदै एमाले प्रवेश गरे बृजेशकुमार गुप्ता



दीपक अनुरागी, तौलिहवा ।
मधेसवादी दलको शक्ति छिन्नभिन्न भएसंगै राजनीति भविष्य बचाउनका लागि मधेस केन्द्रीत नेताहरु राष्ट्रिय पार्टी रोज्न थालेका छन् । ०६४ सालको मधेस आन्दोलन पश्चात एकाएक कपिलवस्तुमा मौलाउँदै गएका मधेस केन्द्रीत दलहरु १५ बर्ष नपुग्दै कमजोर बनेका छन् । मधेस केन्द्रीत दलको शक्तिमा ह्रास आएसंगै जिल्लाका चर्चित नेताहरु राष्ट्रिय पार्टीमा प्रवेश गर्न थालेका हुन् ।

यसै मध्येका पार्टी परिर्वतन गर्ने पछिल्ला नेता हुन् बृजेश कुमार गुप्ता । गुप्ता ०७४ सालमा एमाले नै प्रवेश नगरि सूर्य चुनाव चिह्न लिएर निर्वाचन लडेका थिए । एमाले सांसदकै भूमिकामा रहेका गुप्ता सोमबार मात्र औपचारिक रुपमा एमाले प्रवेश गरेका हुन् ।

उनी जिल्लाबाट पटक पटक निर्वाचित सांसद हुन् । ०५६ सालमा भएको संसदीय चुनावमा उनी राप्रपाबाट विजयी भएका थिए । उनका बुवा स्वर्गीय भगवानदास गुप्ता लामो समय राप्रपामा रहि राजनीति गर्दै आएका थिए । बुवाकै प्रभावको कारण ०५६ मा उनले हलोबाट चुनाव जितेका हुन् ।

०६४ सालमा मधेस आन्दोलनको प्रभाव कपिलवस्तुमा समेत पर्यो । त्यसको मौका छोपी गुप्ता पनि तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) संग आवद्ध भए । यही पार्टीबाट उनले ०६४ को पहिलो संविधानसभाको चुनाव जिते । पहिलो संविधानसभा असफल भएपछि ०७० मा भएको दोस्रो संविधानसभाको चुनावमा पनि उनले तमलोपाबाट उठेर चुनाव जिते ।

संविधान जारीसंगै मधेस केन्द्रीत दलमा देखिएको मतभिन्नता, टुटफुटका कारण मधेस केन्द्रीत दलको प्रभाव जिल्लामा कम पर्न थाल्यो । स्थानीय तहको चुनाव बहिस्कारको नीति लिएको तत्कालिन तमलोपाको मुख्य घटक राष्ट्रिय जनता पार्टी (राजपा) प्रति उनको विमती थियो । त्यसैको असन्तृष्टि चुलिदै जादा उनले मंसीरमा सम्पन्न प्रतिनिधिसभामा राजपा परित्याग गरि एमालेको सूर्य चिह्न लिएर चुनाव लड्न पुगे ।

हृदेश त्रिपाठीले नेतृत्व गरेको स्वतन्त्र समूहले एमालेसंग विभिन्न बुँदामा सहमती गरि सूर्य चिह्न लिएर उम्मेद्वार उठाएको थियो । त्यसैको फाइदा उठाउदै गुप्ता बामगठबन्धनबाट साझा उम्मेद्वार बन्न सफल भई चुनाव जित्न पुगेका हुन् ।

अहिले त्रिपाठीको स्वतन्त्र समूहले जनता प्रगतिशिल पार्टी खोल्न पुगेको छ । तर, गुप्ता त्यो पार्टीमा जान इच्छुक देखिएनन् । एमालेबाट चुनाव जिते पनि राजनीति रुपमा मौन जस्तै बन्दै आएका गुप्ता अन्ततः सोमबार औपचारिक रुपमा एमाले प्रवेश गरेका छन् ।

उनका आलोचकहरु उनी चुनावी हिसाब किताब गरेरै एमाले प्रवेश गरेको बताउँछन् । आफ्नो प्रतिद्धन्द्धी दल कांग्रेस नै भएकाले उनले एमाले रोज्न पुगेको टिप्पणी उठ्न् पुगेको छ । उत्तर, दक्षिण क्षेत्र ओगटेको संघीय निर्वाचन क्षेत्रमा राष्ट्रिय पार्टी विना चुनाव जित्न गाह्रो छ । माओवादी केन्द्र, एकीकृत समाजवादीको प्रभाव कमै रहेको यो क्षेत्रमा कांग्रेस बलियो शक्ति हो । यद्यपि गुप्ताका आफ्नै व्यक्तिगत भोट एमालेका भन्दा धेरै छन् । उत्तरमा एमालेको प्रभाव राम्रै हुनु र दक्षिणमा आफ्नै प्रभाव हुनुको कारण गुप्ताले एमाले रोज्न पुगेका हुन् ।

स्रोतका अनुसार गुप्ताले आफ्ना क्षेत्रमा आफ्नै नेता कार्यकर्तालाई स्थानीय तहमा टिकट दिनुपर्ने शर्तका साथ एमाले रोज्न पुगेका हुन् ।

मधेस केन्द्रीत दलका अर्का प्रभावशाली नेता अभिषेक प्रताप शाह पनि ०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अगाडी नै तत्कालिन संघीय समाजवादी फोरम परित्याग गरि कांग्रेसबाट संघीय चुनाव जितेका थिए । गुप्ता र शाह क्रमश ठूला पार्टीमा प्रवेश गरे संगै जिल्लामा मधेस केन्द्रीत दलको शक्ति कमजोर हुन् पुगेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७८ सोमबार ००:००  ४ : ०३ बजे