२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

नेकपा एस बाट मायादेवी गाउँपालिकाको अध्यक्षमा फैजल खान उम्मेदवार



मायादेवी अनलाइन, पकडी ।
नेकपा एकीकृत समाजवादी कपिलवस्तुले मायादेवी गाउँपालिकाको अध्यक्षमा फैजल खानलाई उम्मेदवार बनाउने भएको छ । पार्टीका जिल्ला सचिवालय सदस्य समेत रहनु भएका खानलाई मायादेवी गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनाउने तयारी समाजवादीले गरेको हो । गएको प्रदेश निर्वाचनमा प्रतिनिधि सभा १ को प्रदेश सभा ख मा बामगठबन्धनबाट साझा उम्मेदवार समेत रहनु भएका खान यस क्षेत्रका चर्चित युवा नेता हुनुहुन्छ । पुर्व नेपाली राष्ट्रिय कृकेटर समेत रहनु भएका खान पार्टी बिभाजन पछि आफू तिर तान्न एमालेले विभिन्न प्रयास गरे पनि दृढ भई समाजवादीमा उभिनु भएको थियो ।
बिहीबार गाउँपालिकाको केन्द्र पकडीमा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गर्दै एकीकृत समाजवादीका केन्द्रीय सदस्य क्षेत्र बहादुर खत्रीले लोकप्रिय नेता खानलाई गाउँपालिकाको अध्यक्षमा खडा गर्ने बताउनुभयो । जनता र पार्टी कार्यकर्ताको चाहना अनुसार खानलाई अध्यक्षको उम्मेदवार बनाउने पार्टीको योजना रहेको भन्दै यसपालि चुनावमा जिताएर देखाउन आग्रह गर्नु भयो । जिल्लामा पनि गठबन्धनको सम्भावना रहेको भन्दै नेता खत्रीले मायादेवीमा पार्टीको पकड बलियो रहेकाले यहाँ समाजवादीलाई छाड्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा बोल्दै पार्टी जिल्ला अध्यक्ष लंका बहादुर हमालले मायादेवीमा एकीकृत समाजवादी प्रति नागरिकको बिश्वास बढेको भन्दै यसले चुनाव जित्ने सम्भावना बढाएको बताउनुभयो । पार्टीका युवा नेता फैजल सबै बिच लोकप्रिय रहेको भन्दै मायादेवीको मुहार फेर्नका लागि कलममा भोट दिनुको विकल्प नभएको बताउनुभयो । आफुहरु समाजवाद स्थापनाका लागि पार्टी निर्माणमा जुटेको भन्दै जनताको बिश्वास पाउनेमा अध्यक्ष हमालले बिश्वास व्यक्त गर्नुभयो ।पार्टीका गाउँपालिका अध्यक्ष राम नरेश कोहारको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न नेताहरुको उपस्थिति रहेको थियो ।
गत हप्ता सम्पन्न जिल्ला सचिवालय बैठकले कपिलवस्तुका सबै पालिकामा पार्टी कार्यालय सन्चालन गर्ने निर्णय गरे अनुसार बिहीबार मायादेवी गाउँपालिकामा पनि कार्यालय संचालनमा आएको हो । यस भन्दा अगाडी शुद्धोधन गाउँपालिकामा एकीकृत समाजवादीले पार्टी कार्यालय स्थापना गरि चुनावी अभियान थालेको थियो । प्रतिनिधि सभा १ मा पर्ने शुद्धोधन र मायादेवी गाउँपालिकामा एकीकृत समाजवादी एमाले भन्दा ठुलो रहेको नेताहरूको दावी छ । यहाँ ०७० सालमा भएको दोश्रो संविधान सभाको निर्वाचनका एमाले उम्मेदवार अजिजुर रहमान शेख पनि एकीकृत समाजवादीमा हुनुहुन्छ भने गएको प्रदेश सभाको चुनावका उम्मेदवार फैजल खान पनि समाजवादी मै रहनुभएको छ । यी दुई प्रभावशाली नेता समाजवादीमा लागे पछि शुद्धोधन र मायादेवी एमालेको भन्दा राम्रो प्रभाव क्षेत्र हुन पुगेको नेताहरूको दावी छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८ शुक्रबार ००:००  ५ : ३५ बजे