१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

आज उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरिँदै



काठमाडौं ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्तरगत शनिबार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । वैशाख ११ र १२ गते मनोनयन दर्ता गराएका उम्मेदवारहरुलाई शनिबार निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम तय भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । यी सबै कार्यक्रमहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुने उनको भनाइ छ ।

यसअघि वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गरेर वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय आयोगले दिएको थियो । यस्तै वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने तथा वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गरिएको थियो । यस्तै शुक्रबार उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको थियो ।

चुनावका लागि ७९ दलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उल्लेख्य संख्यामा स्वतन्त्र उम्मेदवारी समेत परेको छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा एमालेले सबै पदमा गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको छ ।

यस्तै काँग्रेसले ३१ हजार ४२५ तथा माओवादी केन्द्रले २२ हजार २७९ जना उम्मेदवार उठाएको छ । जसपाले ९ हजार ४८१ जना उम्मेदवार उठाउँदा लोसपाले ४ हजार ७६१ जना उम्मेदवार उठाएको छ । यसैगरी एकीकृत समाजवादी पार्टीले ११ हजार ३३० जना उम्मेदवार उठाएको छ । स्वतन्त्र हैसियतमा १२ हजार २२० जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । दलहरुले आफ्नै पार्टीको चुनाव चिह्न पाएपनि स्वतन्त्रले आयोगले तोकेको चिह्न पाउनेछन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९ शनिबार ००:००  ८ : ०१ बजे