१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

‘उजाड विजयनगर, जस्ले गरायो विकसित पालिका’



दीपा महत, वाणगंगा ।
विकासको दृष्टिले पछाडि परेको विजयनगर क्षेत्रलाई विकसित बनाउने काम गोपाल थापाले गरे । ०७४ सालको स्थानीय तहको निर्वाचन भइरहदा विजयनगरमा बेग्रेल्ती समस्या थिए । भर्खर गाविसबाट गाउँपालिकामा रुपान्तरण भएको विजयनगरलाई कस्ले नेतृत्व गर्न सक्ला ? आम पालिकाबासीको प्रश्न थियो । उक्त प्रश्नलाई ५ बर्षमा निराकरण गर्ने काम गोपाल थापाले गरेका हुन् ।

थापा लामो राजनीति धरातलबाट मैदानमा आएका थिएनन् । सामान्य परिवारका थापाको बुवाले भने जीवनलाई राजनीतिमा होमाएका थिए । बुवाको राजनीति सक्रियता हुँदा हुँदै थापा खासै राजनीतिको मूल धारामा थिएनन् । जब ०७४ सालको स्थानीय तहको निर्वाचन आयो, तब मात्र थापा राजनीतिमा सक्रिय हुने अठोट गरे । मधेसी समुदायको बाहुल्यता रहेको विजयनगरमा एमालेको खासै प्रभाव क्षेत्र थिएन् । मधेस आन्दोलनले मधेसी समुदायमा एमाले प्रतिको छाप खासै सकारात्मक थिएन् । यद्यपि थापाले एमालेबाटै गाउँपालिका अध्यक्षको टिकट पाए ।

७ वटा वडा रहेको विजयनगरमा एमालेले उम्मेद्वार उठाएको थियो । जहाँ बहुमत वडामा एमालेको जित हासिल भएको थियो । सडक, खानेपानी, पूल–पुलेसा, शिक्षा, स्वास्थ्य जस्ता विकासमा अति आवश्यक पर्ने पूर्वाधार थापाका एजेण्डा थिए । बर्खामा हिलाम्मे, हिउँदमा धुलाम्मे बाटा पक्की बनाउने जब थापाले चुनावी प्रतिवद्धता गर्थे पालिकाबासी खासै विश्वास गर्दैनथे । किनकी पटक पटक यहीँ माग राखेर नेताहरुले केन्द्रीय चुनाव जित्थे, समस्या ज्यू का ज्यू थियो ।

मानव विकास सूचाकाङ्कमा निकै पछाडि परेको विजयनगरको मुहारलाई साच्चिकै फेर्ने अठोट लिएका थापाले अन्ततः चुनाव जिते । थापाले जब चुनाव जिते, तब विजयनगरको मुहार चम्किलो हुन थालेको हो । सिंगो पालिकाको विकासमा दिनरात नभनि खट्ने थापाले आफ्नो ५ बर्षे कार्यकाल स्वर्णीम तरिकाले विताएका छन् ।

आफ्नो बलबुताले जति भ्यायो, त्यति नै योगदान थापाले पालिकामा गरेका छन् । पालिकाबासी भन्छन्, ‘थापाले जति बोले, त्यो भन्दा बढी काम गरेर देखाए ।’

सडक सञ्जालमा राष्ट्रिय मार्गसंग नजोडिएको विजयनगर अहिले जोडिएको छ । कृष्णनगर–शिवगढी आरटीओ सडक अहिले पक्की बनिसकेको छ भने, चन्द्रौटा–चारनम्बर भटेनी सडकखण्ड पनि कालोपत्रे भैसकेको छ । हुलाकी सडक बन्नेक्रममा छ ।

पालिका मुकामसम्म पुग्ने बाटो पक्की मात्र बनेको छैन्, गाउँ गाउँ जोड्ने बाटो कुनै विकसित पालिका भन्दा कम्ता राम्रा छैनन् । थारु र मधेसी समुदायको बस्ती रहेको गाउँका बाटामा पिपिसी ढलाल अर्को सडक सञ्जालमा महत्वपूर्ण काम हो ।

७ वटै वडामा सडक सञ्जाल पुगेको छ । एक इन्च पक्की सडक नभएका वडामा अनगिन्ती सडक पक्की बनेका छन् ।

शिक्षा क्षेत्रमा पनि विजयनगरले गरेको काम उल्लेखनीय छ । पालिका हुनु पूर्व यहाँको शैक्षिकस्तर नाजुक थियो । हाल सामुदायिक विद्यालयमा गुणस्तरिय पढाई हुन थालेको छ । दरबन्दी अभावको कारण विद्यालयहरु शिक्षक विहिन थिए । जब थापा पालिका अध्यक्षमा आए उनले दरबन्दी कम रहेका विद्यालयमा स्वयमसेवी शिक्षक भर्ना गरे । यस्तै पालिका भित्र रहेको मदरसाको स्तरिकरणमा पनि थापाले उलेख्य बजेट खर्चेका छन् । ‘बेटी पढाओ, बेटी बचाओ अभियान’ थालेका थापाको अर्को युगान्तकारी काम हो ।

स्वास्थ्य क्षेत्रमा पनि विजयनगर अब्बल बनेको छ । गाउँघर क्लीक सञ्चालन गरेर आम पालिकाबासीलाई थापाले सेवा गरे ।कोरोनाकालमा आफु चढ्ने गाडी कोरोना संक्रमितलाई बोक्ने गरि दिए । अनगिन्ती स-साना भारतीय नाका रहेको यस पालिका भारतसंग जोडिएको छ । विभिन्न नाकाको प्रयोग गरि नेपाल आउने नेपालीलाई विजयनगरले कोरोनाकालमा विभिन्न मानवीय काम गर्न सफल रह्यो । क्वारेनटाइन, आइसुलेसन स्थापना गरेर पालिकाबासीलाई कोरोना संकटको बेला स्थानीय सरकारको अनूभुति विजयनगरले दिलाउन सफल भएको थियो ।

सामाजिक सद्भावको प्रश्नमा पनि विजयनगर संवेदनशील ठाउँ हो । हिन्दु, मुस्लिम, पहाडीया, मधेसी समुदायको मिश्रित बसोबास रहेको विजयनगरमा सामाजिक सद्भाव गर्व गर्ने लायकको छ । एकले अर्काे समुदायको चाडवाड मिलेर मनाउने र उत्तिकै सद्भाव दर्शाउने चलनको सुरुवात पनि थापाले नै गरेका हुन् ।

पालिका भित्र रहेको नयाँबस्ती गाउँमा थापाले नमुना काम गरिदिएका छन् । ६५ घरधुरीमा रहेका यो मगरबस्तीमा हरेकले बंगुरपालन गरेका छन् । पालिकाले यसमा प्रत्यक्ष सहयोग गरेको छ । फुसको छानो मुक्त पालिका बनाउने अभियानमा रहेको वियजनगरमा खानेपानीको पहुँचमा पालिकाबासीलाई ल्याउन ओभरहेड ट्याङ्की निर्माण भएका छन् ।

विकासका कयौं काम गरेका थापा आसन्न बैशाख ३० को स्थानीय तहको निर्वाचनमा पुनः अध्यक्ष बन्ने दौडमा छन् । आफुले गर्न थालेका अधुरा र अपुरा काम पूरा गर्न उनले पुनः अध्यक्षमा उम्मेद्वारी दिएका हुन् । पार्टी भित्र सर्वसम्मत अध्यक्षको उम्मेद्वार चयन भएका थापालाई सिंगो पार्टीले नै चाहेको छ भन्ने यसले पनि देखाउँछ । चुनावमा उनले पुनः बाजी मार्छन् या मार्दैनन् बैशाख ३० पर्खनै पर्ने छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९ शनिबार ००:००  २ : ५८ बजे