८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कपिलवस्तुमा एसईईको परिक्षमा ह्वाट्सअपबाट चिट चोराएको खुलासा, प्रअलाई स्पष्टिकरण सोधियो



कपिलवस्तु ।

कपिलवस्तुमा माध्यमिक शिक्षा परिक्षा एसईईमा ह्वाट्सअपको माध्यमबाट प्रअले नै चिट चोराएको खुलासा भएको छ । जिल्लाको कपिलवस्तु नगरपालिकास्थित तिलौराकोट माविका प्रअ संजय वर्मालाई १२ घण्टे स्पष्टिकरण सोधिएको छ । तौलिहवा स्थित बुद्धज्योति ईग्लिस बोर्डिङ स्कुल परिक्षा केन्द्रमा ह्वाट्सअपको माध्यमबाट आफ्ना विधार्थीहरुलाई चिट चोराएको पाईएपछि उनलाई शिक्षा विकास तथा समन्वय ईकाई कपिलवस्तुले वर्मालाई १२ घण्टे स्पष्टिकरण सोधेको हो ।

वैशाख १६ गते शुक्रबार ईच्छिक गणित विषयमा प्रश्न पत्र आउट गरि ह्वाट्सअपको माध्यमबाट आफ्ना विधार्थीलाई उत्तर लेखेर पठाएका थिए । निरिक्षणमा रहनुभएका प्रहरी उपरिक्षक दानबहादुर कार्कीले सो परिक्षा केन्द्र अनुगमन गर्दा ८ जना विधार्थीको साथमा मोबाईल फेला परिएको र प्रअ वर्माको ह्वाट्सअप नम्बरबाट प्रश्नको उत्तरहरु भेटिएको थियो । प्रहरी उपरिक्षक कार्कीले प्रअ वर्माको नम्बरबाट ह्वाट्सअपको माध्यमबाट उत्तरहरु पठाएको भेटिएको बताए ।

सोही क्रममा ८ जना विधार्थीको मोवाईल समेत जफत गरिएको उनले जानकारी दिए । ह्वाट्सअपबाट चिट चोराउने प्रअ वर्मालाई प्रजिअ धमेन्द्र कुमार मिश्रको आदेश अनुसार १२ घण्टे स्पष्टिकरण सोधिएको शिक्षा तथा समन्वय ईकाईका प्रमुख थानेश्वर घिमिरेले बताए । प्रअ वर्मासंग यसै सम्बन्धमा थप कुरा बुझ्न खोज्दाँ उनी अहिले सम्पर्कमा रहेका छैनन् ।

कपिलवस्तुमा जिल्ला सदरमुकाम तौलिहवासहित विभिन्न परिक्षा केन्द्रहरुमा विगतदेखि नै यस्ता चिट चोराउने घट्ना हुदै आएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९ शनिबार ००:००  ५ : १८ बजे