१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कपिलवस्तुमा ४५ जनाले उम्मेद्वारी फिर्ता लिए



अनिश बन्जाडे, कपिलवस्तु ।

कपिलवस्तुमा १० पालिकाबाट ४५ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन । बैशाख ११ र १२ गते मनोनय पत्र दर्ता गराएका उनीहरुले बैशाख १६ गते आफनो उम्मेदवारी फिर्ता लिएका हुन ।

कपिलवस्तुका १० पालिकामा कुल ३ हजार ५८२ मनोनय पत्र दर्ता भएको थियो । त्यस मध्ये रित नपुगका १४ जनाको उम्मेदवारी रद्ध भएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ । यसरी उम्मेदवारी फिर्ता लिनेमा सबैभन्दा धेरै बाणगंगा नगरपालिकाका रहेका छन् ।

बाणगंगामा नगर प्रमुख उपप्रमुखसहित २ सय ७८ जनाले उम्मेदवारी दर्ता गराएका थिए । जसमा उम्मेदवारी दर्ता गराएका २० जनाले फिर्ता लिएका छन् । यसैगरी कुष्णनगर नगरपालिका, बुद्धभुमि नगरपालिका, यशोधरा गाउँपालिका र मायादेवी गाउँपालिकामा २–२ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् ।

त्यस्तै शुद्धोधन गाउँपालिकामा १, कपिलवस्तु नगरपालिकामा ६, शिवराज नगरपालिकामा ४ जना ले उम्मेदवारी फिर्ता लिएको जनइएको छ । महाराजगंज नगरपालिका र बिजयनगर गाउँपालिकाबाट ३–३ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ । आसन्न बैशाख ३० गते हुने निर्वाचन नजिकिएसंगै उम्मेदवारहरु अहिले घरदैलो अभियानमा तिव्र छन ।

प्रकाशित मिति : १७ बैशाख २०७९ शनिबार ००:००  ६ : १३ बजे