३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

बैशाख ३० निर्वाचनः लालपूर्जा वा राहदानी देखाएर पनि मतदान गर्न पाइने



काठमाडौं ।
भोलि हुने स्थानीय तहको निर्वाचनमा राहदानी वा लालपूर्जाका आधारमा पनि मतदान गर्न पाइने भएको छ।

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका मतदाताले राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गाधनी प्रमाणपत्रको सक्कल प्रतिको आधारमा पनि मतदान गर्न पाउने जनाएको हो।

मतदाता परिचयपत्र नभएकाले नागरिकताको प्रमाणपत्र देखाएर पनि भोट खसाल्न पाउनेछन्। आयोगले सम्बन्धित मतदान स्थलमा हिजो र आज गरी दुई दिन मतदाता परिचयपत्र वितरण गरिरहेको छ।

यता मादक पदार्थ खाएका व्यक्ति मतदाता नै भए पनि मतदान केन्द्रमा प्रवेश नदिइने आयोगले स्पष्ट पारेको छ ।

यस्तै मतदाता वा कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल,क्यामेरा तथा फोटो खिच्ने सामग्री,सलाई,लाइटर तथा एसिडजस्ता प्रज्ज्वलनशील पदार्थ लग्न नपाइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा उम्मेदवारका एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि,आयोगबाट अनुमति पाएका पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति मतदान स्थलमा प्रवेश गर्न पाउनेछन्।

यस्तै महिला मतदाताको साथमा पाँच वर्षसम्मका बालक, दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगका लागि आएका घरका परिवारलाई मात्र प्रवेश गर्न दिने आयोगले स्मरण गराएको छ।

प्रकाशित मिति : २९ बैशाख २०७९ बिहिबार ००:००  ९ : २२ बजे