८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

ओलीको गृहनगर दमकमा एमालेको हार



झापा ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको गृहनगर दमक नगरपालिकामा एमालेले हारेको छ । एमालेले तीन दशकको विरासत गुमाएको छ । ओलीको गृहनगरमा कांग्रेस, माओवादी र राप्रपाको महागठबन्धनबाट राप्रपाका राम थापा विजयी भएका छन् । उनी तेस्रो प्रयासमा दमक नगरपालिकाको नगर प्रमुख बन्न सफल भएका हुन् ।

थापाले ०५४ र ०७४ मा पनि प्रयास गरेका थिए । दुईपटक नै उनी एमालेका रोमनाथ ओलीसँग पराजित भएका थिए । थापा १७ हजार ५२५ मतका साथ विजयी भए । उनले एमालेकी गीता अधिकारीलाई पाँच सय ५९ मतले पराजित गरे । निवर्तमान उपप्रमुखसमेत रहेकी अधिकारीले १६ हजार ९६६ मत प्राप्त गरिन् । उपप्रमुखमा पनि गठबन्धनका तर्फबाट कांग्रेसकी रेगिना भट्टराईले जितेकी छन् । उनले १७ हजार ७२ मत ल्याउँदा एमालेका अम्बिका खनालले १६ हजार ५७४ मत पाए । गठबन्धनमा सामेल माओवादीलाई भने घाटा भएको छ । पाएको चारवटै वडामा माओवादी पराजित भयो ।

एमालेले वडामा भने वर्चश्व कायम गरेको छ । दशमध्ये सातवटा वडा एमालेले जितेको छ । कांग्रेसले दुई र राप्रपाले एउटा वडा जितेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९ शुक्रबार ००:००  ११ : ५७ बजे