२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

भरतपुरवासीलाई निराश हुन दिन्न : मेयर रेनु दाहाल



चितवन ।

भरतपुर महानगरपालिकाको मेयरमा पुनः निर्वाचित रेनु दाहालले जनताको मनोविज्ञान बुझेर काम गर्ने बताउनुभएको छ । अन्तिम मतपरिणाम आएपछि प्रतिक्रिया दिँदै उहाँले महानगरवासीलाई निराश हुन नदिने बताउनुभयो ।

पालिका तहमा यो आफ्नो अन्तिम कार्यकाल भएको भन्दै उहाँले महानगरका अधुरा काम पूरा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशकै ध्यान यो महानगरमा रहेकाले आफू जित्नु सुखद भए पनि जनताको भावना बुझेर काम गर्छु’, उहाँले भन्नुभयो, ‘स्थानीय सरकार भनेको राजनीति गर्ने ठाउँ होइन, विकास निर्माण गर्ने हो, त्यतैतर्फ लाग्छु ।’

पहिलो पटकको कार्यकालमा महानगरमा आफूले गरेको पहिलो निर्णय अहिले धेरै पालिकाले सुरु गरेकाले त्यो जनताबाट अनुमोदित भएको उहाँले बताउनुभयो । पहिलो पटक उहाँ निर्वाचित भएसँगै पहिलो निर्णय भरतपुर अस्पतालमा महिलाका लागि बहिरङ्ग सेवाको टिकट निःशुल्क गरिएको थियो । पाँच दलीय गठबन्धन शान्ति र प्रगतिका लागि भएकाले यो लामो समयसम्म जाने बताउँदै उहाँले यो भत्किहाल्ने, टुटिहाल्ने जस्तो केही पनि नहुने बताउनुभयो ।

प्रकाशित मिति : १० जेष्ठ २०७९ मंगलबार ००:००  १ : ५७ बजे