५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कमलेशले जोगाए लोकतान्त्रिक समाजवादी पार्टी कपिलवस्तुको साख



दीपा महत, वाणगंगा ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कपिलवस्तुको साख कमलेश शरण चौधरीले जोगाएका छन् ।

महन्थ ठाकुर नेतृत्वमा रहेको लोसपा जिल्लामा कमजोर नै छ । ठाकुरकै नेतृत्वमा गठन भएको तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) कुनै बेला जिल्लामा शक्तिशाली थियो ।

०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा तत्कालिन तमलोपाले जिल्लाका ५ निर्वाचन क्षेत्र मध्ये ३ क्षेत्रमा विजयी हासिल गरेको थियो ।

जिल्लाका चर्चित नेताहरु वृजेश कुमार गुप्ता, दान बहादुर चौधरी, विरेन्द्र मिश्रा लगायत ०६४ सालका तमलोपाबाट निर्वाचित संविधानसभा सदस्य हुन् ।

यी नेताहरु अहिले ठाकुर नेतृत्वको पार्टीमा छैनन् । दान बहादुर चौधरी पछिल्लो समय नयाँ शक्ति हुँदै जनता समाजवादी पार्टी, नेपाल (जसपा)मा सक्रिय छन् भने, वृजेश कुमार गुप्ता एमालेमा प्रवेश गरेका छन् ।

विरेन्द्र मिश्रा भने जनता प्रगतिशिल पार्टीका महासचिव भएर काम गरिरहेका छन् ।

ठूला नेताहरु लाखपाखा लाग्दा जिल्लामा मधेस केन्द्रीत दलको वर्चश्व गुम्दै गएको छन् । तत्कालिन बेला राजेन्द्र महतोले नेतृत्व गर्ने सद्भावना पार्टी अहिले राजपा हुँदै लोसपा छ । सद्भावना पार्टीमा लामो समय देखि राजनीति गर्दै आएका जिल्लाका पुराना नेता रविदत्त मिश्रा (राजु) मात्र महन्थ ठाकुरको पार्टीमा सिनियर नेताका रुपमा जिल्लामा क्रियाशिल छन् ।

०७४ सालमा तत्कालिन बेलाको राष्ट्रिय जनता पार्टी (राजपा) ले दोस्रो चरणको निर्वाचन बहिस्कार गरेको थियो । संविधान निर्माणको सन्दर्भमा विमति जनाउँदै सडक संघर्षमा रहेको राजपाले दोस्रो चरणमा सम्पन्न स्थानीय तह निर्वाचन बहिस्कार गरे देखि कपिलवस्तुमा यसको लिगेसी कमजोर बनेको हो ।

चुनाव बहिस्कार कै कारण वृजेश कुमार गुप्ता, निसार अहमद खाँ लगायतका नेताहरुले राजपा त्यागे । राजपा त्यागे पछि निसार शुद्धोधन गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेद्वार बने भने, गुप्ताले आफु पक्षिय नेताहरुलाई स्वतन्त्र रुपमा निर्वाचनमा उठाए ।

०७४ को स्थानीय तहको चुनावबाट कमजोर बन्दै गएको राजपाको धार लोसपा बन्दै गर्दा झनै कमजोर बनेको हो ।

कमजोर बनेकै परिस्थितिमा उठ्दै गरेको लोसपाले गएको बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा शुद्धोधन गाउँपालिकाको अध्यक्ष जित्दै गुमेको साख फर्काउन सफल भएको छ ।

निर्वाचन बहिस्कारका कारण ०७४ मा स्थानीय तहमा शून्य रहेको लोसपाको यो धार हालैको निर्वाचनमा भने उठेको छ । शुद्धोधन गाउँपालिकाको अध्यक्ष जित्दै लोसपाका कमलेश शरण चौधरीले पार्टीको साख बचाएका हुन् ।

६ वडा रहेको शुद्धोधनमा कुनै पनि वडा लोसपाले जित्न सकेन् । यद्यपि चौधरीले पालिका अध्यक्ष जित्न सफल रहे ।

चौधरीले जसपाका निसार अहमद खाँलाई पराजित गरेका हुन् । निवर्तमान पालिका अध्यक्ष समेत रहेका खाँ चौधरी संग २ सय ९९ मतले पराजित भए ।

चौधरीले ४ हजार ४ सय ८१ मत पाएका निर्वाचित हुँदा खाँले ४ हजार १ सय ८२ मत पाए ।

१० पालिका मध्ये शुद्धोधनमा अध्यक्ष जितेको लोसपाले शिवराज नगरपालिकामा आफ्नो उपस्थिति बलियो पारेको छ ।

शिवराजको मेयरमा उम्मेद्वार रहेका लोसपाका केन्द्रीय नेता समेत रहेका रविदत्त मिश्रा (राजु) ले ४ हजार २४ मत पाएर चौथो भए ।

९६ वडा रहेको जिल्लामा लोसपाले शिवराज नगरपालिकामा २ र महाराजगञ्ज नगरपालिकामा १ गरि ३ वडा जितेको छ ।
८ पालिकामा लोसपाका उम्मेद्वारले खासै मत पाउँन सकेका छैनन् ।

यो पनि पढ्नुहोस्

पिलवस्तुमा डेढ दशक भित्रै कमजोर बनेको मधेस केन्द्रित दलको शक्ति

प्रकाशित मिति : १५ जेष्ठ २०७९ आइतबार ००:००  ६ : ४८ बजे