४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

शिवराजमा गज्जवको राजनीतिः प्रशासनिक भवन बनाउन बर्षौ किचलो गरेका एमाले-कांग्रेस जब मिले…



दीपक अनुरागी, कपिलवस्तु
भनिन्छ राजनीति सम्भावनाको खेल हो । यहीँ युक्तिको प्रयोग कपिलवस्तुको शिवराज नगरपालिकामा भएको छ ।

आइतबार सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत नगर कार्यपालिका चुनावमा एमाले र कांग्रेस बीच गठबन्धन भएपछि विभिन्न कोणबाट चर्चा उठ्न थालेको छ ।

यी दुवै दल शिवराजमा तीव्र प्रतिस्पर्धी दलहरु हुन् । जनमतका हिसाबले लगभग हाराहारीमा रहेका शिवराजका एमाले र कांग्रेस सितिमिति मिलेर अगाडी बढेको खासै घटना छैन् ।

सामाजिक संघ संस्थाको निर्वाचन होस् या व्यापार संघको । कहीँ पनि एमाले-कांग्रेस मिलेर अगाडी बढेको देखिदैन् । एमाले-कांग्रेस नमिलेको कारण बरु चन्द्रौटाले धेरै अवसर गुमाएको जानकारहरु बताउँछन् ।

०७८/०७९ तिर चन्द्रौटा केन्द्रित स्वास्थ्य चौकी स्थापनाका लागि बजेट आयो । उक्त बजेट कहाँ कार्यान्वयन गर्ने भन्ने बारे एमाले-कांग्रेस बीच विवाद भयो । विवादका बीच स्वास्थ्य चौकी निर्माण भएन् । त्यो बजेट वाणगंगाको पिपरामा आएर कार्यन्वयन भयो । अहिले जिल्लाको पूर्वी क्षेत्रको भरपर्दो सरकारी अस्पताल पिपरा अस्पताल हुन पुगेको छ ।

यो त एक उदाहरण मात्र हो । पश्चिमी क्षेत्रको एक मात्र क्याम्पस नेपाल आदर्श बहुमुखी क्याम्पसको सञ्चालक समिति विवादकै कारण झण्डै एक दशक गठन नभएको पनि इतिहास ताजै छ । कुनै बेला चन्द्रौटा उद्योग वाणिज्य संघको निर्वाचन कुर्न अदालतसम्म मुद्धा पुगेको थियो । यी सबैका कारण-एमाले कांग्रेस बीचकै आपसी बेमेल नै थियो ।

यति मात्र होइन् हालै चन्द्रौटा खानेपानी समितिको चुनावमा एमाले, कांग्रेस बीच तिव्र विवाद छ । एमालेले आफ्नै ढंगले समिति घोषणा गरेको छ भने, कांग्रेस लगायतका इतरका शक्तिले आफ्नै ढंगले समिति बनाएर अगाडी बढेका छन् । आगामी दिन यसको विवाद पनि अदालतसम्म पुग्ने निश्चित छ ।

कयौं राजनीति मतभेदका बीच अगाडी बढेको शिवराजमा ०७४ सालको स्थानीय तहको निर्वाचनमा एमाले सत्तामा आयो ।

एमालेका नेत्रराज अधिकारी नगर प्रमुखमा निर्वाचित भए भने, उप-प्रमुखमा एमाले कै शिवकुमारी थारु निर्वाचित भइन् । नगर कार्यपालिकामा समेत एमाले बहुमतमा थियो ।

५ बर्षे कार्यकालमा एमाले नेतृत्वले नगर भित्र थुप्रै काम गरेको छ । यद्यपि आफ्नो प्रशासनिक भवन बनाउन भने एमालेको नेतृत्वले सकेन् । यसको प्रमुख समस्या कांग्रेस इतरका शक्तिको अवरोध नै हो ।

शिवराज नगरपालिका अहिले पनि भाडाको भवनबाट सञ्चालनमा छ । बार्षिक लाखौं रकम शिवराजले भाडाको भवनका लागि खर्च गर्दै आएको छ । ०७१ मा गठन भएको शिवराज नगरपालिका ०७३ यता संघीयता कार्यान्वयनसंगै झनै फराकिलो बनेको थियो ।

भाडाको भवनबाट सञ्चालन हुँदै आएको शिवराजको प्रशासनिक भवन चन्द्रौटा बजारको पूर्वी क्षेत्रमा पर्ने रहटकोल आसपास बन्दै छ । तर, अदालतमा मुद्धा परेपछि यसको काम अगाडी बढ्न सकेको छैन् ।

प्रशासनिक भवन बनाउदा देखि नै कांग्रेसले यसमा किचलो निकालेको एमालेका नेताहरु बताउँछन् । खासगरी कांग्रेसका नेता हरि प्रसाद पोख्रेल यसको विरोध गर्ने मध्येका प्रमुख नेता हुन् । उनले नै भवनको काम रोक्न माग गर्दै जिल्ला अदालत, पुनरावेदन अदालत हुँदै सर्वोच्चसम्म मुद्धा हाले ।

सर्वोच्चमा थन्किएको यो मुद्धा अझै किनारा लागिसकेको छैन् । भवनको जग ढलाई सम्पन्न भइसकेको छ भने, करोड बढी रकम खर्च भइसकेको छ । तर, काम हुन नसक्दा ठेकदार काम छाडेर हिडेको छ भने, गरिसकेको काम बीचमै अलपत्र छ ।

प्रशासनिक भवन निर्माणमा लामो समय एमाले-कांग्रेस बीच विवाद जारी छ ।

एकले अर्कालाई नजिकका प्रतिस्पर्धी ठान्ने एमाले-कांग्रेसले हालै भने गज्जवको सहकार्य गरेका छन् । देशभर ५ दलीय गठबन्धन एमाले विरुद्ध एक भएर अगाडी बढेका बेला चन्द्रौटामा भने कांग्रेसले एमालेको साथ खोजेको छ ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा शिवराज नगरपालिकाको नगर प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अजय थापा मेयरमा निर्वाचित भए ।

अनपेक्षित रुपमा शिवराजको बागडोर सम्हाल्न पुगेका थापा अहिलेको स्थितिमा त्यहाँसम्म पुग्लान भनेर एमाले-कांग्रेसले सोचेका थिएनन् । दुवै दलबीच मात्र चुनावी प्रतिस्पर्धा ठानेका नेताहरु बरु जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी-समाजवादीको बामगठबन्धनलाई खतरा देखेका थिए ।

तर, धेरैको अनुमानलाई थापाले जनमत मार्फत खारेज गरिदिएका छन् । शिवराजबासीको अपार माया पाएका थापा शिवराज नगरपालिकाको नगर प्रमुख बने । १२ वडा मध्ये कुनै पनि वडामा जित निकाल्न नसकेको राप्रपाले अन्ततः नगर प्रमुखमा सानदार जित निकाल्न सफल भयो ।

राप्रपाका थापा मेयर भए संगै नगरकार्यपालिकामा बहुमत पु¥याउनका लागि एमाले कांग्रेस बीच चुनावी तालमेल हुन पुगेको हो ।

मेयरलाई काम गर्न नदिनका लागि नै शिवराजमा एमाले-कांग्रेस बीच अप्राकृतिक गठबन्धन भएको कतिपयको आरोप छ ।

यद्यपि यसै आरोपका बीच शिवराज नगरपालिकाको सत्ता कसरी अगाडी बढ्छ हेर्न बाँकी नै छ ।

यो पनि पढ्नुहोस्

शिवराजको भवन रोक्नमा भूमिका खेल्ने जग्गा दलाल : थारु बस्तीका घर जादैनन्, बरु भाग्य चम्किन्छ

प्रकाशित मिति : १६ जेष्ठ २०७९ सोमबार ००:००  ९ : ०७ बजे